हेटौंडामा अब सबै किसिमका मालबाहक सवारीको तौल गर्न सकिने

मकवानपुर । हेटौंडा वडा नम्बर ११ थानाभर्याङमा आजबाट करीब ४० फिट लम्बाईको तौलपुल (धर्मकाँटा) सञ्चालनमा ल्याईएको छ । नेपालको सडकमा हाल सम्म केही अपवादलाई छोडेर ३८ फिट लम्बाई सम्मका व्यवसायिक ट्रेलर, ट्रकहरु गुड्ने गरेका छन् । हेटौंडा उपमहानगरपालिका, नारायणी संघ कम्पनी प्रा.लि. र नारायणी यातायात संघ प्रा. लि.को संयुक्त व्यवस्थापन रहने गरी तौल पुल (धर्मकाँटा) सञ्चालनमा ल्याईएको हो ।
तौल पुलको हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महतले आज एक कार्यक्रमका बीच तौल गरेको सवारीलाई रसिद दिएर धर्मकाँटाको शुभारम्भ गरेका छन् । करीब ५५ लाख रुपैयाको खर्च लागतमा निर्माण गरिएको सो तौलपुलमा प्रति मालबाहक सवारीले भ्याटसहित ५० रुपैया शुल्क तिर्नुपर्ने नारायणी संघ कम्पनी प्रा.लि. का महासचिव सरोज खनालले बताएका छन् । महासचिव खनालका अनुसार संकलित रकम कर्मचारीलाई पारिश्रमिक र सामाजिक कार्यमा खर्च गरिने बताएका छन् ।
हेटौंडा–११, थानाभर्याङमा पहिले देखिनै तौल पुल सञ्चालमा रहेको भएपनि सो तौलपुलको लम्बाई छोटो हुनाले लामो ट्रेलरको तौल गर्न नसकिएपछि तौल नगरीकनै छोड्नु पर्ने बाध्यता रहेको थियो ।
पछिल्लो समय आफ्नो क्षमता भन्दा बढी भारबहन गर्नाले सडक, पुल–पुलेसा चाडै भत्किने गरेको छ । आजबाट तौलपुल सञ्चालन आएपछि क्षमताभन्दा बढी भार लिएर आउने सवारीको भार मिलान गरेरमात्रै अगाडी बढ्न दिईने बताईएको छ ।