घुससहित सव–इन्जिनियर पक्राउ
मकवानपुर । घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बाराको कलैयामा कार्यरत सव–इन्जिनियरलाई पक्राउ गरेको छ । अख्तियारको कार्यालय हेटौंडाबाट खटिएको टोलीले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाललाई घुस रकम सहित पक्राउ गरेको हो ।
अख्तियारको टोलीले जैसवाललाई कलैया नगरपालिका– ४ बाट ८० हजार घुस रकमसहित पक्राउ गरेको जनाएको छ । सेवाग्रही संग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले सव–इन्जिनियर जैसवाललाई पक्राउ गरेको जनाएको छ ।
सव–इन्जिनियर जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग घुस मागेका थिए ।
अख्तियारको टोली देखेपछि उनले नजिकै रहेका चन्दन जैसवाललाई उक्त रकम दिई भाग्न खोज्ने क्रममा दुबै जनालाई पक्राउ गरेको अख्तियार हेटौंडाले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।