भीमफेदीमा ४५ दिनमा झोलुङ्गे पुल निर्माण सम्पन्न
मकवानपुर । मकवानपु्रको भीमफेदी गाउँपालिकामा ४५ दिनमा नै झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । भीमफेदी गाउपालिकाको ज्यालटारमा ४५ दिनमा नै झोलुङ्गे पुल निर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको हो ।
गाउँपालिकाको वडा नम्वर ३ र ४ जोड्ने गरी राप्ती खोलामा पुल निर्माण सम्पन्न गरी उद्घाटन गरीएको गाउँपालिकाले जनाएको छ ।
आज गाउँपालिकाका अध्यक्ष हिदम लामाले सो पुलको उद्घाटन गरेका हुन् । उनले पुल उद्घाटन कार्यक्रममा बोल्दै प्राविधिक रुपमा सहयोग गर्ने राडो नेपाल र निर्माणमा लागिपर्ने उपभोक्ता समितिप्रति आभार व्यक्त गरे ।
४७ मिटर लम्बाईको उक्त पुल निर्माण गर्न भीमफेदी गाउँपालिकाले २१ लाख १७ हजार रुपैँया उपलब्ध गराएको गाउँपालिकाका योजना प्रमुख बद्री सापकोटाले जानकारी दिए ।
ज्यालटार उपभोक्ता समितिले पुल निर्माणको जिम्मा पाएको थियो ।
झोलुङ्गे पुल निर्माण गरेपछि त्यस ठाउँमा प्रयोग हुँदै आएको तुइन बिस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।











