हेटौंडा औद्योगिक क्षेत्रको निर्यात व्यापारमा ८० प्रतिशतले गिरावट

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार १४:३१
;

मकवानपुर ।  पुरानो तथा ठूलो क्षेत्रफलमा फैलिएको हेटौँडा औद्योगिक क्षेत्रको निर्यात व्यापारमा झण्डै ८० प्रतिशतले गिरावट आएको छ ।

दशकअघिको व्यापारको तुलनामा बितेको वर्षको व्यापारमा झण्डै ८० प्रतिशतले गिरावट आएको देखिन्छ । दश वर्षअघि आर्थिक वर्ष २०६५/०६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निर्यात गर्दै आएका थिए । तर, आव ०७६/७७ सम्म आइपुग्दा ५ वटामा खुम्चिन पुगेको छ ।

आव ०६५/६६ मा जिल्लाबाट एक अर्ब २७ करोड १५ लाख ६५ हजार रुपैयाँको औद्योगिक उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएको थियो ।

आव २०७५/७६ सम्म आइपुग्दा मकवानपुरको निर्यात व्यापार ३८ करोड ५० लाख रुपैयाँ रहेकोमा बितेको वर्ष ३६ करोड ११ लाखमा सीमित बन्न पुगेको छ । आव २०७४/७५ मा भने निर्यात अत्यन्तै खुम्चिएर २० करोड ७८ लाख २७ हजारमा झरेको थियो ।

मकवानपुरमा भएका बहुराष्ट्रिय कम्पनीहरूले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योगहरू बन्द हुनुका कारणले पनि मकवानपुरको निर्यात व्यापारमा कमी आएको उद्योग वाणिज्य संघको भनाइ छ । निर्यात व्यापार सुस्ताएसँगै निर्यातबापत सरकारलाई प्राप्त हुने राजस्वमा पनि भारी गिरावट हुन पुगेको छ ।

विशेषगरी क्रसरजन्य पदार्थको निकासीमा मकवानपुरको निर्यात व्यापार निर्भर थियो । क्रसरजन्य पदार्थको निर्यातमा सरकारले रोक लगाएपछि निर्यात व्यापार पनि ओरालो लागेको हो । पाँच वर्षअघि मकवानपुरका २५ निर्यातमूलक उद्योगमध्ये १९ वटा त क्रसरजन्य नै थिए ।

दशकअघि क्रसरजन्य उत्पादनहरू, जडिबुटी, अदुवा, लसुनहरू विदेशमा निर्यात हुने गरेकोमा सरकारी नीतिकै कारण सबै व्यापार ठप्प हुन पुगेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल बताउँछन् ।

निर्यातजन्य उद्योगहरूलाई सरकारले संरक्षण गर्न नसकेको कारण धेरै उद्योगहरू बन्द हुन पुगेको कटुवालले बताए ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा बितेको आर्थिक वर्ष २०७६/७७ मा निर्यात व्यापारमा झण्डै २ करोड रुपैयाँभन्दा बढीले गिरावट आएको छ । तर, २०७४/७५ को तुलनामा भने बितेको वर्षको व्यापार सन्तोषजनक नै देखिन्छ । पछिल्ला वर्षहरूमा मकवानपुरमा निर्यातजन्य उद्योगहरू आधा दर्जनको संख्यामा खुम्चिएको छ ।

२०७५/७६ र ०७६/७७ मा ५ वटा उद्योगले मात्र भारत तथा तेस्रो मुलुकमा आफ्नो सामान निर्यात गरेका छन् ।

बर्सेनी करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरू बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरू पनि केहीवर्षअघिदेखि अस्तित्वमा छैनन् ।

सरकारलाई राजस्व आम्दानीमा ठूलो योगदान पुर्‍याउँदै आएको एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता वहुर्राष्ट्रिय उद्योगले पनि ६ वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केही वर्ष अघिदेखि भारत निकासी बन्द गरेको छ ।

आव २०७५/७६ मा ३ करोड ७ लाख रुपैयाँको ट्रान्सफर्मर भुटान, बंगलादेशलगायतको मुलुकमा निकासी गरेको इकरात इन्जिनियरिङ कम्पनी प्रालिको बितेको वर्षको निर्यात शून्य छ । आव ०७५/७६मा  २९ लाखभन्दा बढी रुपैयाँको खरिढुङ्गा निकासी गरेको टेन माइक्रोन्स नेपाल प्रालिले पनि बितेको वर्ष कुनै पनि निर्यात गर्न सकेन । कार्पेट उत्पादन गर्ने एमएम पोलिमर्सको निर्यात पनि बितेको वर्ष शून्यमा सीमित बन्यो ।

आव २०७०/०७१ सम्म मकवानपुरवाट निर्यात व्यापार गर्ने उद्योगको संख्या २२ थियो । आव २०७१/०७२ मा ४८ करोड ७७ लाख रुपैयाँको उत्पादन निर्यात भएकोमा आव  ०७२/०७३ मा ३७ करोड ५ लाख रुपैयाँमा निर्यात व्यापार झरेको मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । आव २०७३/०७४ मा पनि ३५ करोडको सामान निर्यात भएको थियो ।

बितेको आर्थिक वर्ष २०७६/७७ मा मकवानपुरबाट सिएसआई नेपाल प्रालिले सबैभन्दा धेरै २४ करोड ९२ लाख ८० हजार रुपैयाँको उत्पादन भारत निकासी गरेको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकअनुसार गत वर्ष हिमालयन काथा उद्योगले १० करोड ५४ लाख रुपैयाँको सामाग्री निकासी गरेको थियो भने बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको एक लाख २७ हजार रुपैयाँको साबुन, स्याम्पुलगायतको सामान निर्यात गरेको थियो ।

भर्खरै मात्र सञ्चालनमा आएको गोदावरी पोलिप्याक्स एण्ड फेबिकले पनि पहिलो वर्ष नै २३ लाख ५२ हजार रुपैयाँको प्लाष्टिकको बोरा निर्यात गर्न सफल भएको छ । त्यस्तै स्थानीय जडिबुटीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाईफ साइन्सेस प्रालिले पनि पहिलो वर्ष ४० लाख रुपैयाँको औषधि विदेश निर्यात गरेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा भएपछि औद्योगिक वातावरणमा सुधार हुने आशा उद्योगीले गरेपनि सोचे अनुसार नभएको उनीहरूको भनाई छ ।

हेटौँडामा औद्योगिक क्षेत्र-२ निर्माणको क्रममा रहेको र औद्योगिक क्षेत्र-१ मा पनि उद्योग सञ्चालनको राम्रो वातावरण बनेमा भारतलगायत तेस्रो मुलुकमा सामान निर्यात गर्ने उद्योग थपिने उद्योगीको विश्वास रहेको छ ।

बजारमा माग नहुँदा उद्योग पूर्ण क्षमतामा चल्न सकेनन्

लकडाउन अन्त्य भएपनि हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरू भने पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।

लकडाउन अन्त्य हुनु अगावै सबैजसो उद्योगहरू सञ्चालनमा आएता पनि बजारमा माग नुहँदा पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको उद्योगीहरूले बताएका छन् । खाद्यान्न र अत्यावश्यकबाहेक उद्योगहरूले अहिले सरदर ४० देखि ५० प्रतिशत मात्र उत्पादन गरिरहेको उद्योग संघ मकवानपुरले जानकारी दिएको छ ।

‘बजारमा माग नभएपछि उद्योगहरूले अहिले उत्पादनमा कटौती गर्न बाध्य भइरहेका छन् । सामान स्टक धेरै भएका उद्योगहरूले त उत्पादन नै बन्द गरेर बसिरहेका छन् ।’ उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले भने । कोरोना महामारीको कारण अझै औद्योगिक वातावरण सामान्य हुन नसकेको पोखरेलले बताए ।

औद्योगिक क्षेत्रमा रहेका एक सय १२ वटा उद्योगहरूमध्ये प्राय सबै सञ्चालनमा आइसके पनि पूर्णरुपमा उत्पादन भने गर्न नसकिरहेको उनले बताए । कोरोना महामारीको कारण फर्निसिङ, कार्पेट उद्योग, कन्स्ट्रक्सनका सामाग्री उत्पादन गर्ने उद्योग, पाइप, रङ उद्योगहरू धेरै प्रभावित भएका छन् । मैदा, तेल, दाना, मैदा, चामल उत्पादन गर्ने उद्योगहरू भने पूर्ण क्षमतामा सञ्चालनमा रहेको उद्योगीहरूले बताएका छन् ।

कोरोनाका कारण अर्थतन्त्र नै धरापमा रहेका बेला मानिसको क्रय शक्ति घटेकोले औद्योगीक उत्पादनले बजार पाउन नसकेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थाक राजेन्द्रसाद कँडेलले बताए । लकडाउन भएपछि बन्द भएका उद्योगहरू करिब दुई सातापछि आंशिक रुपमा खुल्न थालेका थिए ।

स्रोतः शिलापत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*