मल अभावले किसान मारमा, सरकारीको मल गोदाम रित्तो
मकवानपुर । रासायनिक मलको अभावले हरेक वर्षहरुमा जस्तै यस वर्ष पनि किसानहरु मर्कामा परेका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्षमा पनि बालि लगाउने मुख्य सिजनमा रासायनिक मल अभाव हुँदा किसानहरु मर्कामा परेका हुन् ।

यो समस्या मकवानपुरसहित देश भरका कृषकले भोग्ने गरेका छन् । हरेक वर्ष किसानले रासायनिक मल पाउँदैनन् । विगत देखि नै मल पाइएला र खेति गरौंला भनेर कुरेर बसेका कृषकहरुको दिन आशमा नै वितिरहेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ३० प्रतिशत दायित्वसहित कृषि मल वितरण गर्दै आएका छन् । तर दायित्व बोकेकै यी कार्यालयको गोदाम यति बेला खालि छन् ।

यी कार्यालयको गोदाममा अहिले कुनै पनि रासायनिक मल छैन ।

विषेशत बैशाख देखि भाद्रसम्म किसानहरु बालि लगाउन व्यस्त हुन्छन् । बालि लगाउने मुख्य सिजनमा नै मल अभाव हुनुमा सरकारी स्वामित्वका मल वितरण केन्द्र कै कमजोरी भएको किसानहरुको गुनासो छ । कृषकलाई आवश्यकता परेको बेला मल उपलब्ध गराउनु पर्ने कार्यालयले आफ्नै गोदाम रित्तो छ भन्नु गैर जिम्मेवारीपुर्ण तर्क रहेको उनीहरुको भनाई छ ।

केहि कृषकहरुले ती कार्यालयले ग्रामिण भेगमा थोरै मात्रामा मल पठाउने आरोप लगाएका छन् । उनीहरुका अनुसार ती कार्यालयले सरहर केन्द्रित रहेका कृषि सहकारी संस्थालाई मात्र मल दिने गरेको बताएका छन् ।
ती कार्यालयहरुले ठूलो हिस्सा शहरमा रहेका मल डिलरहरुलाई नै वितरण गर्दा खेती योग्य भूमिको ठूलो क्षेत्र रहेको ग्रामिण क्षेत्रमा भने रासायनिक मल पुग्नै सकेको छैन ।
यस विषयमा ति कार्यलयका प्रमुखलाई प्रश्न गर्दा ग्रामिण भेगमा कृषि सहकारीहरु नहुनु र भएका पनि मल लिन नआउनाले यस्तो देखिएको बताउँछन् । उनीहरुका अनुसार जो प्रकृया पुर्याएर मल लिन आउछन् उनीहरुलाई मात्र मल वितरण गरेको उनीहरुको दाबी छ ।
कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पारेशन लिमिटेडले कृषि सहकारी संस्थाबाट मात्र राज्यले दिएको अनुदानका मलहरु वितरण गर्दै आएको छ ।











