प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठलाई नहटाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल, नेपालका कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि त्यसका विरुद्ध श्रेष्ठ सर्वोच्च अदालत गएका थिए ।
सरकारले प्रेस काउन्सिलको नियममा थप व्यवस्था गरेर कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने पनि ठहर गरेको छ ।
सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशमा भनिएको छ, यस अवस्थामा विवादित नियम ३ (क) को प्रावधान तत्काल कार्यान्वयनमा ल्याइएमा निवेदक प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्नसक्ने अवस्था देखिएको हुँदा सुविधा सन्तुलनका दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखियो । उक्त संशोधित (थप गरिएको) नियम ३ (क) हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राखी प्रेस काउन्सिलका भइरहेका कार्यवाहक अध्यक्षलाई हटाउने कार्य नगर्नु, नगराउनु । निजलाई साविक बमोजिम काम गर्न दिनबाट नरोक्नू ।
आइतबार प्रेस काउन्सिलको सदस्यमा नियुक्त भएकी भण्डारीलाई मन्त्रिपरिषद्ले सोमबार नै कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । प्रेस काउन्सिलका सदस्यहरूले वरिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने व्यवस्था नियमावलीमा रहेकोमा उक्त व्यवस्थाका अतिरिक्त व्यवस्था थप गरेर मन्त्रिपरिषद्ले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनसक्ने व्यवस्था राखिएको थियो । जसले विवाद सिर्जना भएको थियो ।