कुलमान घिसिङ विद्युत प्राधिकरणमा फेरि दोहोरिन्छन्ः ऊर्जामन्त्री पुन
काठमाडौं । यतिबेला नेपालमा दुई व्यक्तित्वबारे निकै चर्चा भइरहेको छ । खासगरी उनीहरूले जिम्मेवारी सम्हाल्दै आएको पदबारे मानिसहरूलाई धेरै चासो र जिज्ञासा देखिएको छ । उनीहरू हुन् अर्थमन्त्री डा.युवराज खतिवडा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।
अर्थमन्त्री खतिवडा र कार्यकारी निर्देशक घिसिङको पद यही भदौमै सकिँदैछ । सांसद मनोनीत भएनन् भने खतिवडाको अर्थमन्त्री पद भदौ २० गतेसम्मका लागि मात्रै हो । यस्तै, पुनः नियुक्ति भएनन् भने घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ ।
घिसिङको पुनः नियुक्ति होस् भन्ने अधिकांश नेपालीको चाहना देखियो भने अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिनुपर्ने पक्षमा त्यति जनताले चासो देखाएको पाइएको छैन ।
घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ हटाउन विद्युत वितरणलाई निकै चुस्त र प्रभावकारी ढंगले काम गरेको देखिएको छ । भलै भारतबाट चार सय ५० मेगावाट विद्युत किन खरिद नगरिएको होस् ।
यही अन्योलताका बीच ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङ नै नेपाल विद्युत प्राधिकरणमा दोहोरिने जानकारी दिएका छन् । आफूलाई भेट्न आएका विद्युतसँग सरोकार राख्ने विज्ञहरूसँग मन्त्री पुनले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उनलाई दोश्रो कार्यकालका लागि नियुक्ति गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिने मन्त्री पुनले बताए। त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उनी दोश्रो कार्यकालका लागि नियुक्त हुने पुनले बताए।
स्रोतका अनुसार मन्त्री पुनले घिसिङलाई पुनः नियुक्ति दिने विषयमा प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरिसकेका छन् ।
स्रोतः क्यानाडा नेपाल