राष्ट्रिय सभामा वामदेवलाई नलैजाने, प्रधानमन्त्रीले भने, ‘च्याप्टर क्लोज्ड’ भइसक्यो !

हेटौडा न्युज
१५ भाद्र २०७७, सोमबार १३:२५
;

काठमाडौं । नेकपाका उपध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजाने भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव प्रस्तुत गरेर प्रचण्ड–नेपाल समूहबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली क्याम्पमा प्रवेश गरेका गौतमलाई राष्ट्रिय सभामा लैजाने राजनीतिक वृत्तमा अड्कलबाजी र चर्चा भएको थियो ।

सुरुमा प्रधानन्त्री र अध्यक्षबाट ओलीको राजीनामा मागेको उनले मौजुदा प्रतिनिधिसभाको कार्यकालभरी ओली नै प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष नै ओली रहनु पर्ने गरी ६ बुँदे प्रस्ताव गरेका थिए । सो प्रस्तावले नेकपाको आन्तरिक विवाद मथ्थर पार्न भूमिका खेलेको थियो ।

उक्त प्रस्तावपछि गौतमलाई राष्ट्रिय सभामा लैजाने अनुमान गरिएको थियो । तर, दुई दिन अघि प्राइम टेलिभिजनमा ऋषि धमलालाई अन्तर्वार्ता दिनेक्रममा प्रधानमन्त्री ओलीले यसअघि नै गौतमलाई राष्ट्रिय सभामा लैजाने ‘च्याप्टर क्लोज्ड’ भइसकेको बताएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रिय सभामा मनोनित गर्ने एक सीट बाँकी रहेको छ । युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएपछि रिक्त रहेको सो पदमा गौतमलाई मनोनित गर्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीको सो अभिव्यक्ति सार्वजनिक भएको हो ।

यसअघि सचिवालयले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपनि त्यसपछिको निर्णयले उपयुक्त समयमा प्रतिनिधि सभामा लैजाने निर्णय गरेको र स्वयं गौतमले पनि राष्ट्रिय सभामा नजाने बताएकाले उनलाई राष्ट्रिय सभा लैजाने ‘च्याप्टर क्लोज्ड’ भइसकेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

यही भदौ २० गतेबाट अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिँदैछ । उनलाई पुनः दोहो¥याउन राष्ट्रिय सभामा मनोनित गर्ने सम्भावना पनि रहेको छ । यद्यपि, यही भदौ १८ गते सत्तारुढ नेकपाको सचिवालय बैठकमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

हालै प्रधानमन्त्री ओली र गौतमबीच भेटवार्ता भएकाले राष्ट्रिय सभामा गौतमकी पत्नीलाई राष्ट्रिय सभामा मनोनित गर्ने विषयमा छलफल भएको अपुुष्ट खबर पनि आएका छन् । गत साउन १३ गते ६ बुँदे प्रस्ताव गरेपछि राति प्रधानमन्त्री ओली पत्नीसहित भैंसेपाटीस्थित गौतम निवासमा पुगेका थिए ।

यसपछि गौतम पत्नीलाई राष्ट्रिय सभामा लैजाने वा मन्त्री बनाउने विषयमा छलफल भएको चर्चा चलेको थियो ।

स्रोतः क्यानाडा नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*