नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहि बेर अघि सुरु भएको बैठक सुरु भएको हो ।
आजको बैठकले राष्ट्रिय सभा सदस्यको सिफारिस गर्न सक्ने बताइएको छ।
अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौं २० गते सकिने भएकाले खतिवडालाई दोहोर्याउने या नदोहोर्याउने भन्ने निर्णय आजै हुनेछ।
त्यस्तै, आजको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमा समेत छलफल हुनेछ। सचिवालयको मुख्य एजेण्डा यही रहेको भए पनि राष्ट्रिय सभा उमेदवार विवादले अन्य एजेण्डा ओझेलमा परेका छन्।
राष्ट्रिय सभा सांसदका लागि उपाध्यक्ष वामदेव गौतमले पनि चाहना राखेका छन् तर प्रधानमन्त्री ओलीले खतिवडालाई दोहोर्याउन चाहेका छन् ।
बहुमत सचिवालय सदस्य गौतमका पक्षमा रहेकाले प्रधानमन्त्रीले चाहेजस्तो निर्णय हुन कठिन रहेको जनाइएको छ ।
यसअघि फागुन १४ गते नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिएको थियो। तर, प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई लागू गरेका थिएनन्।
वैशाख २० गते बसेको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उमेदवार बनाउने निर्णय गरेको थियो।
फागुन १४ को निर्णयलाई वैशाख २० को निर्णयले प्रतिस्थापन गरेको प्रधानमन्त्री ओलीको बुझाइ छ।