मंसिरसम्म २ लाख ५ हजार टन मल ल्याइने

थप १ लाख टन मल टेन्डर प्रक्रियामा
हेटौडा न्युज
२७ भाद्र २०७७, शनिबार ०८:०१
;

काठमाडौं चालु आवमा साल्ट ट्रेडिङले ७५ हजार टन तथा कृषि सामग्री कम्पनीका लागि मुक्तिनाथ कृषि कम्पनीले ४५ हजार टन र इन्डियन पोटास लिमिटेडले ३० हजार टन ल्याउने जिम्मा पाएका छन्, गत आवमै मल नल्याएर कालोसूचीको सिफारिसमा परेको शैलुङ इन्टरप्राइजेजले समेत ५५ हजार टनको जिम्मा पाएको छ, जुन आउने टुंगो छैन  । 

आगामी मंसिर दोस्रो साताभित्र २ लाख टन मल आयात गर्ने सरकारको तयारी छ । सरकारी अनुदानमा रासायनिक मल आपूर्ति र वितरणको जिम्मा लिएका दुई सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडले मंसिरसम्म २ लाख ५ हजार टन युरिया, डिएपी र पोटास आयात गर्ने ठेक्का सम्झौता गरेका छन् । थप १ लाख ५ हजार टन मल आयातको टेन्डर र ठेक्का सम्झौता गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ । तर, मंसिरमा उक्त परिमाणअनुसारको मल ल्याउन ठेकेदारलाई निरन्तर दबाब दिइरहनुपर्ने जानकारहरू बताउँछन् ।

चालू आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले रासायनिक मल ल्याउन ११ अर्ब अनुदान छुट्याएको छ । अनुदान रकममध्येबाट कृषि सामग्रीले ७० प्रतिशत र साल्ट टे«डिङले ३० प्रतिशत मल आयातको जिम्मेवारी पाएका छन् ।

कृषि सामग्रीका प्रवक्ता विष्णु पोखरेलका अनुसार चालू आवका लागि २ लाख ४५ हजार टन रासायनिक मल आपूर्तिका लागि टेन्डर भइसकेको छ । त्यसमध्ये कात्तिक र मंसिरभित्र आइसक्ने गरी १ लाख ३० हजार टन मल आपूर्तिको ठेक्का सम्झौता भइसकेको छ । ‘मंसिर दोस्रो साताभित्र ८० हजार टन युरिया आयातको सम्झौता भएको छ,’ पोखरेलले भने, ‘त्यस्तै, ४० हजार टन डिएपी र १० हजार टन पोटास आयात हुनेछ ।’

उनका अनुसार पोटास आयातका लागि छनोट भएको इन्डिया पोटास लिमिटेड ९आइपिएल०ले विशाखापट्टनम बन्दरगाहमा १० हजार टन ल्याइसकेको छ । सो पोटास एक महिनामा नेपाल भित्रिन सुरु हुने पोेखरेलले बताए । त्यस्तै, ४० हजार डिएपीमध्ये २० हजार टन मुक्तिनाथ कृषि कम्पनी र २० हजार टन आइपिएलसँग ठेक्का सम्झौता भइसकेको छ ।

चालू आवको युरिया आयातका लागि भने बदनाम ठेकेदार शैलुङ इन्टरप्राइजेजसँग ३० हजार टन र २५ हजार टन गरी कुल ५५ हजार टनको सम्झौता भइसकेको छ । ‘ठेक्का सम्झौताअनुसार कात्तिक र मंसिर दोस्रो साताभित्र शैलुङले सबै युरिया ल्याइसक्नुपर्छ,’ पोखरेलले भने, ‘हामीले अहिलेदेखि नै ताकेता गरिरहेका छौँ । उनीहरूले ल्याउने प्रतिबद्धता पनि जनाइरहेका छन् ।’ त्यस्तै, थप २५ हजार टन युरिया आयातका लागि कृषि सामग्रीले मुक्तिनाथ कृषि कम्पनीसँग सम्झौता गरेको छ । सो कम्पनीले पनि मंसिरभित्र ल्याइसक्नुपर्ने समयसीमा तोकिएको छ ।

गत आवको २५ हजार टन युरिया आयात गर्न नसकेपछि शैलुङलाई कृषि सामग्रीले सम्झौता रद्द गर्ने, जमानत जफत गर्ने निर्णय गर्दै कालोसूचीमा समेत राख्न सिफारिस गर्ने तयारी गरेको छ । यो कारबाहीपछि चालू आवको ठेक्का सम्झौताअनुसार युरिया ल्याउन शैलुङलाई दबाब बढेको कृषि सामग्रीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए । ‘शैलुङलाई मौजुदा कानुनअनुसार हदैसम्मको कारबाही गरेका छौँ,’ उनले भने, ‘यसबाट आगामी दिनमा मल समयमै ल्याउन दबाब बढेको छ । हामीले अहिले पनि लिखित र मौखिक निर्देशन दिइरहेका छौँ ।’

थप १ लाख टन मल टेन्डर प्रक्रियामा

कृषि सामग्रीले हिउँदे बाली लक्षित गरी थप १ लाख १५ हजार टन रासायनिक मल आपूर्तिको टेन्डर प्रक्रिया अघि बढाएको छ । यसमध्ये ३० हजार टन युरिया खरिदका लागि स्विस सिंगापुर कम्पनी छनोट भइसकेको छ । ‘अब केही दिनभित्रै ठेक्का सम्झौता हुनेछ,’ प्रवक्ता पोखरेलले भने । त्यस्तै, थप ३० हजार टन युरियाको टेन्डर भएको र केही दिनमै आपूर्तिकर्ता छनोट गरिने उनले बताए । कम्पनीले ३० हजार र २५ हजार टन डिएपी खरिदका लागि टेन्डर प्रक्रिया अघि बढाएको छ ।

साल्ट टे«डिङ धमाधम मल ल्याउँदै, कृषि सामग्रीलाई लकडाउन बाधक !

कृषि सामग्रीले मल ल्याउन ढिलाइ गरिरहेका वेला साल्ट टे«डिङले भने धमाधम आयात गरिरहेको छ । कृषि सामग्रीले ५० हजार टन र साल्ट टे«डिङले २२ हजार टन युरिया खरिदका लागि सँगैसँगैजस्तो टेन्डर गरेका थिए । तर, कृषि सामग्रीले एक बोरा पनि ल्याउन सकेन भने साल्ट टे«डिङले तोकिएको समयअनुसार जेठ पहिलो साता नै भारतको कोलकाता बन्दरगाहमा ल्याएको थियो । लकडाउन र श्रमिक अभावका कारण लोडिङ हुन नसक्दा गत ८ भदौबाट मात्र सो मल भित्रिन सुरु गरेको छ । मुलुकभर युरियाको अभाव देखिएपछि साल्ट टे«डिङले चालू आवको पहिलो चौमासिकका लागि प्राप्त गरेको ७५ हजार टन खरिद आदेशमध्येबाट १० हजार टन युरिया थपेर कोलकाताबाट अहिले कुल ३२ हजार टन आयात गरिरहेको छ ।

साल्ट टे«डिङका सहायक महाप्रबन्धक पंकज जोशीका अनुसार प्रत्येक २–३ दिन बिराएर २५ सय टनका दरले युरिया आयात भइरहेको छ । अहिलेसम्म करिब १० हजार टन युरिया भित्रिसकेको छ । ‘चालू आवको पहिलो चौमासिकमा ४० हजार डिएपी, ३० हजार युरिया र ५ हजार पोटास आयातको जिम्मा हामीलाई दिइएको छ,’ जोशीले भने, ‘अहिले युरियाको चरम अभाव देखिएपछि हामीले गत आवको २२ हजार ५ सय टनमा थप १० हजार टन तुरुन्त किनेर ल्याइरहेका छौँ ।’ उनले ३० हजार टनमध्येबाट १० हजार टन ल्याएको बताए ।

त्यस्तै, कर्पोरेसनले ३० हजार टन युरिया (यसबाट १० हजार टन आइरहेको छ) र २० हजार टन डिएपीको ठेक्का सम्झौतासमेत गरिसकेको छ । ‘हामीले ५० हजार टन युरिया र डिएपी कात्तिकभित्र ल्याइसक्छौँ,’ जोशीले भने, ‘थप २० हजार टन डिएपी र ५ हजार टन पोटास खरिदका लागि टेन्डर सूचना प्रकाशित भएको छ । यो मल पनि मंसिरभित्र आइसक्नेछ ।’

साल्ट टे«डिङले धमाधम मल ल्याइरहे पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले वार्षिक कोटाअनुसार थप मल खरिदका लागि अनुमति दिएको छैन । मल ल्याउन नसकेर आलोचित बनेको कृषि सामग्रीलाई झन्डै ३ लाख टन खरिदको स्वीकृति दिइसकेको मन्त्रालयले साल्ट टे«डिङलाई पहिलो चौमासिकको मात्र कोटा दिएको छ । कृषि सामग्रीलाई जस्तै चालू आवको सबै कोटाको स्वीकृति दिए धमाधम टेन्डर गरेर समयमै मल दिन सक्ने कर्पोरेसनको भनाइ छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*