प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङ

बुटबल । प्रदेश नम्बर ५ को प्रदेश सभाले स्थायी राजधानी दाङको देउखुरी कायम गरेको छ । आज प्रदेश सभामा भएको मतदानबाट दाङलाई स्थायी राजधानी कायम भएको हो । मतदानका क्रममा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको थियो । प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीका अनुसार ८७ सदस्य रहेकामा ८२ जना सदस्यहरुले मतदानमा भाग लिएका थिए । दाङको देउखुरीको पक्षमा बहुमत आएपछि उनले स्थायी राजधानीको प्रस्ताव पारित भएको घोषणा गरे थिए ।
यसैगरी प्रदेशको नाम लुम्बिनी पनि दुई तिहाइले पारित भएको छ । नामको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको थियो । लुम्बिनीको पक्षमा दुई तिहाइ भन्दा बढी भएपनि सभामुख सभामुख पूर्णबहादुर घर्तीले प्रदेशको नाम लुम्बिनी कायम भएको घोषणा गरेका थिए ।
प्रदेश राजधानी दाङ कि बुटवल भन्ने विवादका कारण हिजो सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड गरेका थिए ।