वडा कार्यालय अगाडि वडाध्यक्षको बाबुको शालिक

हेटौडा न्युज
१५ कार्तिक २०७७, शनिबार १०:५५
;

मकवानपुरको उत्तरी क्षेत्रमा वडाध्यक्षले वडा कार्यालय अगाडि आफ्नो बाबुको शालिक बनाएका छन् ।  थाहा नगरपालिका ११ नम्बरका वडाध्यक्ष किरणमान बलले वडा कार्यालय अगाडि आफ्नो बुबा अष्टमानको शालिक निर्माण गरेका हुन् । थाहा नगर ११ टिष्टुङ, नौखण्डेस्थित वडा कार्यालय अगाडि निर्माण गरिएको शालिकको अनावरणसमेत गरिएको छ । थाहाको टिष्टुङ क्षेत्रको पहिचानका लागि पूर्वजनप्रतिनिधिसमेत रहेका अष्टमानको योगदानको कदर गर्दै शालिक निर्माण गरिएको हो ।

थाहा ११ र १२ नम्बर वडा कार्यालयले संयुक्त रुपमा अष्टमानको शालिक निर्माणका लागि २८ कात्तिक २०७६ मा प्रस्ताव पेश गरेको थियो । प्रस्ताव पेश गरेको करिब एक वर्षमा ११ लाख लागतमा अष्टमानको अर्धकदको शालिक निर्माण गरिएको हो । अष्टमान जनपक्षीय प्रधानपञ्च तथा तत्कालीन टिष्टुङ गाँउ विकास समितिका अध्यक्षसमेत रहेको थाहा नगरपालिका प्रमुख लवशेर विष्टले बताए ।

१४ पुस २००२ मा जन्मिएका अष्टमान २०४३ देखि २०४६ सम्म तत्कालिन टिष्टुङ पञ्चायतको प्रधानपञ्च थिए । बहुदल स्थापना पछि २०४९ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित उनी आठ वर्ष भारतीय सेनामा काम गरेर आएकाले गाँउमा ‘लाहुरे’ उपनामबाट परिचित थिए ।

स्पष्ट वक्ता, निडर स्वभाव, अत्याचार विरोधी र विकासको अभियानकर्मीका रुपमा उनले सामाजिक काममा आफूलाई संलग्न गराएको नगर प्रमुख बिष्टले बताए । उनकै सक्रियतामा २०४३ सालमा तत्कालिन साना किसान विकास आयोजना कार्यक्रमअन्तर्गत गाउँमा कुटानी पिसानीको मिल स्थापना भएको थियो ।  यस्ता विविध कालखण्डमा उनको योगदानको कदर गर्दै शालिक निर्माण गरेको बिष्टको दाबी छ ।

शालिक अनावरण गर्दै सांसद विरोध खतिवडाले अष्टमानले दुर्गमको विकासमा अतुलनीय योगदान दिएको बताए  । उनले उनको शालिक निर्माण गर्ने समयमा उनकै छोरा वडाध्यक्ष हुनु संयोग मात्र भएपनि बुबाको योगदानलाई सम्झेर सबैको सहमतिमा निर्माण गरिएको दाबी गरे । टिष्टुङ क्षेत्रलाई हाल प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजनाहरु अघि सारिएको नगर प्रमुख बिष्टको भनाइ छ ।                                                                           नयाँ पत्रीकामा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*