हेटौंडामा धुलो दूध उत्पादन उद्योग खोल्दै प्रदेश सरकार

हेटौडा न्युज
१५ कार्तिक २०७७, शनिबार १२:५९
;

मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौंडा उपमहानगरपालिका-१० सिसौंघारीमा धुलो दूध उत्पादन उद्योगको स्थापना गर्ने भएको छ । सोही वडाको सिसौंघारीमा करिब दुई विगाहा दुई कठ्ठा जग्गाभित्र धुलो दूध उत्पादन उद्योगको प्रशासकीय भवन र प्लान्ट निर्माणको लागि बागमती प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बोलपत्र आह्वान गरी निर्माण व्यवसायीलाई निवेदन दर्ता गर्न अहिले सूचना प्रकाशित गरिसकिएको कृषि मन्त्रालयका प्रवक्ता डा शरण पाण्डेले बताएका छन् ।

उनले बागमती प्रदेश कृषि मन्त्रालयको तर्फबाट रु ४५ करोड १२ लाखको लागतमा धुलो दूधको उत्पादन उद्योग स्थापना गर्न प्रदेश दुग्ध विकास बोर्डलाई रकम हस्तान्तरण गरिसकेको पनि जानकारी दिए। हेटौंडामा स्थापित हुने धुलो दूध उत्पादन उद्योगले आगामी आर्थिक वर्ष २०७८/७९ को आवभित्र दैनिक करिब ५ मेट्रिक टन धुलो दूधको उत्पादन गर्ने लक्ष्य राखिएको पनि प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ ।

प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहट र बागमती प्रदेशको चितवन र मकवानपुरका गरी पाँच हजार ६ सय ५३ जना कृषकबाट दैनिक ६० हजार ५ सय लिटर दूध सङ्कलन गरी सो उद्योगले खरिद गर्ने कृषि मन्त्रालयका प्रवक्ता डा पाण्डेले उल्लेख गरे। उनका अनुसार, धुलो दूध उत्पादन गर्ने कार्य प्रारम्भ भइसकेपछि प्रत्यक्ष÷अप्रत्यक्ष गरी करिब ८० जना सर्वसाधारणहरुले रोजगारी प्राप्त गरिनेछ ।

सो उद्योगले उत्पादन गर्ने दूधको प्याकिङ गरिएको दैनिक पाँच मेट्रिक टन धुलो दूध लाई सातवटै प्रदेशको स्थानीय बजार, होटलहरु र सर्वसाधारण उपभोक्तालाई सहज ढङ्गबाट वितरण गर्ने कार्य तालिकासहित यातायातको सुविधा उपलब्ध गराइने भएको कृषि मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*