भैसे–भीमफेदी सडक २० मिटरको हुने, आजबाट निर्माण कार्य शूरु
मकवानपुर । मदन भण्डारी मार्ग अन्तर्गतको भैसे–भीमफेदी सडकको स्तरोन्नति हुने भएको छ । आज एक कार्यक्रमका बीच बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री फुयालले आजबाट शूरु गरिएको कार्य तोकिएको समयमा नै सम्पन्न हुने विश्वास दिलाएका छन् ।
तत्कालिन राणाकालमा काठमाडौंबाट चित्लाङ्हुँदै भीमफेदीहुँदै तराई आउने मूलबाटोको रुपमा रहेको सो सडकको कूल ३८ करोड ७८ लाख ८ सय ९७ रुपैयाको लागतमा करीब ११ दशमलब ५ किलोमिटर सडकको हाल कायम रहेको सडकको केन्द्रबिन्दूबाट दायाँबायाँ १०/१० मिटर चौडाई बनाईने भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले बताएका छन् ।
स्तरोन्नति गरिने क्षेत्रमा केही निजी घरटहरा पनि रहेकोले त्यसको व्यवस्थापन गर्दै निर्माण कार्य गरिने अध्यक्ष लामाले बताएका छन् । स्तरोन्नति कार्य आशिष/डिएस जेभी ठेकेदार कम्पनीले आगामी २०७९ सालको आषाढ मसान्त सम्म निर्माण सम्पन्न गर्ने बताईएको छ ।











