चीनका रक्षामन्त्री काठमाडौंमा

काठमाडौँ । चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङहे काठमाडौं आइपुगेका छन् । नेपाल भ्रमणका लागि मन्त्री फेङखे आइतबार बिहान काठमाडौं आइपुगेका हुन् ।
नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर मन्त्री फेङ्हे नेपाल आएका हुन् । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०१९ को अक्टोबर (१२–१३) मा नेपालको भ्रमण गरेयता कुनै पनि उच्च चिनियाँ अधिकारी नेपाल आएका थिएनन् ।
रक्षामन्त्री वेई राष्ट्रपति सीका नजिकका पात्र मानिन्छन् ।
वेई सुरुमा चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । सैनिक स्रोतका अनुसार त्यसपछि करिब २ बजे उनी सैनिक मुख्यालय जंगी अड्डामा पुग्नेछन् जहाँ उनलाई नेपाली सेनाले ‘गार्ड अफ अनर’ले सम्मान गर्नेछ ।
त्यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गरेपछि वेई राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । त्यहाँबाट उनी सीधै त्रिभुवन विमानस्थल जानेछन् ।