उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल

हेटौडा न्युज
१४ मंसिर २०७७, आईतवार १२:०१
;

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । उनी करिब ५४ प्रतिशत मत ल्याउँदै विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी किशोरकुमार प्रधानले भने ४६ प्रतिशत मत ल्याएका छन् ।

महासंघको निर्वाचन समितिका अनुसार जिल्ला–नगरतर्फबाट ५० प्रतिशत, एसोसिएटबाट ३० र वस्तुगततर्फबाट २० प्रतिशत मतभार रहने गरेको छ ।

ढकालले जिल्ला नगरतर्फ ५२ वस्तुगततर्फ ५९ र एसोसिएटतर्फ ढकालले ५ सय २२ मत प्राप्त गरेका छन् । त्यस्तै प्रधानले जिल्ला–नगरतर्फ ५३ मत वस्तुगततर्फ ३९ र एसोसिएटतर्फ ३ सय ७५ मत प्राप्त गरेका छन् ।

शनिबार राति सार्वजनिक भएको मत परिणामअनुसार एसोसिएटतर्फको उपाध्यक्षमा ढकाल प्यानलकै रामचन्द्र संघाई विजयी भएका छन् । उनले प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन् ।

महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । उनले ५८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी गुणनिधि तिवारीले भने ४७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचित श्रेष्ठ वरिष्ठ उपाध्यक्ष किशोर प्रधान प्यानलका हुन् ।

जिल्ला नगरतर्फ १८ सदस्य पदका लागि ३८ जनाको उम्मेदवारी परेको थियो । यसअन्तर्गत जिल्ला नगरतर्फ १ सय ५ मतदाता रहेकोमा सबै मत खसेका थिए । तीन मत भने बदर भए ।

वस्तुगतर्फको उपाध्यक्षमा पनि प्रधान प्यानका अञ्जन श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ६२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत प्राप्त गरे । दुई मत भने बदर भए । वस्तुगततर्फ १ सय १ मतदाता थिए ।

जिल्ला–नगरतर्फ १ सय ५ मतदाता रहेकोमा सबै मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यसमा तीन मत बदर भए । जिल्ला–नगरतर्फ राजन श्रेष्ठ, तारानाथ घिमिरे, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्रकुमार भगत, कुवीर श्रेष्ठ, कमानबहादुर खड्का, डीबी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोर आचार्य र अमृत भट्टचन महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पौडेलले बताए । यसैगरी प्रदेश २ बाट विजयकुमार साह, वाग्मती प्रदेशबाट सहनलाल प्रधान, गण्डकी प्रदेशबाट बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट जमशेर मियाँ, कर्णाली प्रदेशबाट ललिमान बुढा, सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुँवर र संस्थापक समूहबाट दामु अधिकारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । महासंघमा कुल ६४ पदका लागि निर्वाचन भएको हो ।

त्यस्तै वस्तुगततर्फ नरेशलाल श्रेष्ठ, भक्तबहादुर हमाल, सुमितकुमार केडिया, आकाश अधिकारी, हेमराज ढकाल, सुबोधकुमार गुप्ता र प्रकाशसिंह कार्की सदस्यमा विजयी भएका छन् । गोविन्द ढुंगेल, मनीषलाल प्रधान, अरनिको राजभण्डारी, मीनमान श्रेष्ठ, सुकुन्तलाल हिराचन, सन्दीपकुमार अग्रवाल र विष्णुप्रसाद गैरे पनि वस्तुगततर्फकै सदस्यमा विजयी भएका हुन् ।

वरिष्ठ उपाध्यक्ष र एसोसिएटतर्फको मत गणना शनिबार राति साढे एक बजेसम्म पनि जारी रहेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए ।

कोरोना सन्त्रासबीच भएको निर्वाचनमा पनि शतप्रतिशत मत खसेको महासंघको निर्वाचन समितिले जनाएको छ ।

गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट महासंघको ५४औं वार्षिक साधारणसभा उद्घाटन गरेका थिए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानी निर्वाचन भएको हो । यसअघिको चुनावमा वरिष्ठ उपाध्यक्ष निर्वाचित शेखर गोल्छाले महासंघको आगामी कार्यकालको अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*