मकवानपुरगढी दरबार घुम्न शुल्क तिर्नुपर्ने

हेटौडा न्युज
१६ मंसिर २०७७, मंगलवार १४:३२
;

मकवानपुर । मकवानपुरको मकवानपुरगढी दरबार घुम्न शुल्क तिर्नुपर्ने भएको छ । आगामी मंसिर १३ गतेबाट लागु हुनेगरि गाँउपालिकाले शुल्क उठाउन ठेक्का सम्झौता गरेसंगै शुल्क तिर्नुपर्न भएको हो ।

मकवानपुरगढी गाँउपालिकामा रहेको ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्र घुम्न यसअघि कुनै शुल्क तिर्नुपर्ने थिएन् ।

गाउँपालिकाले ठेक्कामार्फत् शुल्क उठाउन सुरु गरेको हो । गाउँपालिकाको अनुसार २०७७ मंसिरबाट असारसम्मका लागि १३ लाखमा शुल्क संकलन गर्ने ठेक्का दिइएको हो ।

दरबार क्षेत्रको सरसफाई, संरक्षण र पर्यटकमैत्री बनाउनका लागि पर्यटकसँग थोरै रकम लिने निर्णय गरिएको गाउँपालिकाक अध्यक्ष विदुर हुमागाईले बताए ।

दरबार क्षेत्र घुम्न जाने स्वदेशी पर्यटकले १५ रुपैयाँ, विदेशीले ५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ भने साना सवारीसाधन पार्किङको १० रुपैयाँ, ठूला सवारीसाधन पार्किङको एकसय रुपैयाँ तोकिएको छ ।

यसैगरी त्यही पकाएर खाने पिकनिकका लागि १ हजार र ड्राइ पिकनिकका लागि ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

दरबार क्षेत्रमा फिल्म सुटिङका लागि ३ हजार पाँचसय र म्युजिक भिडियो सुटिङका लागि २ हजार शुल्क तोकिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताए ।

गाउँपालिकाले विजयोत्सव, तीज, ठूलो एकादशी र कृष्णजन्माष्टमीमा भने स्थानीयवासीसँग शुल्क नलिने जनाएको छ ।

परम्परादेखि स्थानीयले उक्त चाडपर्वमा दरबार भित्र रहेको कृष्णको मन्दिरमा पूजा आरधाना गर्दै आएकाले शुल्क छुट गरिएको पुडासैनीले जानकारी दिए ।

गढी दरबार क्षेत्रमा प्रवेश शुल्क लगाउने गाउँपालिकाको निर्णय खारेज गर्न विभिन्न राजनीतिक दल र स्थानीयले ध्यानाकर्षण गराउँदै विरोध गरेका थिए । विरोधका बाबजुद पनि गाउँपालिले शुल्क लिने निर्णय कार्यान्वयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*