नवलपुर र पदमपोखरी जोड्न २६ करोडको पुल
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ११ र १२ जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा–११ र १२ नम्बर वडा जोड्ने रापती खोलामा पक्की पुलको शिलान्यास गरेका हुन् ।
बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा नवलपुर र पदमपोखरी जोड्ने सो पक्की पुलको आज शिलान्यास गरेका हुन् ।
सो पुल निर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट २६ करोड ४१ लाख ८७ हजार रकम विनियोजित गरिएको बताइएको छ ।
एलिट कन्स्ट्रक्सन काठमाडौंलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको छ । दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइको सो पुल मुख्यमन्त्री पौडेलकै पहलमा योजना अघि सारिएको मन्त्रालयले जनाएको छ । ४ वटा स्पान हुने पुलको गाडी हिड्ने भाग ७.५ मिटर तथा फुटपाथ १.५ मिटरको हुनेछ ।
पुलसँगै दायाँबायाँ ३ सय ५०, ३ सय ५० मिटरगरी ७ सय मिटरको सडक निर्माण हुनेछ भने दुबैतिरगरी ७ सय मिटर लामो तटबन्ध निर्माण हुनेछ ।
नवलपुल–पदमपोखरी जोड्ने पुल नहुँदा त्यस क्षेत्रका सर्वसाधारणले मुख्यबजार आउन करिब १ घन्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो । त्यस क्षेत्रका सर्वसाधारणले १५ वर्ष अघिदेखि पुल निर्माणको माग गर्दै आएका थिए ।











