सर्वदलीय बैठक आज बिहान ११ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक आज ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री ओलीले आज ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताए।
बैठकमा राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुनेछ। त्यस्तै, कोभिड–१९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ।
संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिने उद्देश्यले यो बैठक बोलाइएको हो।
नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा विवादका विषयमा छलफल गर्न वैशाख ३१ मा पनि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।
उक्त छलफलमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति जुटेको थियो।