परेवाभीरको सडक निर्माणका लागि ठेक्का सम्झौता
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको परेवाभीरको सडक निर्माणका लागि ठेक्का सम्झौता भएको छ । राक्सिराङ गाउँपालिका– ४ मा पर्ने परेवाभीरमा सडक निर्माणका लागि गाउँपालिकाले निर्माण कम्पनी लामा/बानियाँ जेभीसंग सम्झौता गरेको हो ।
गाउँपालिकाले ६ सय ३० मिटरको सडक निर्माणको लागि ४ महिना अघि आह्वान गरेको ६ करोड ७५ लाख रुपैँया लागतको टेन्डर बानियाँ लामा जेभीले प्राप्त गरेको हो ।
४ करोड ३२ लाख रुपैँयामा १८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी लामा/बाँनिया जेभीसंग पालिकाले गरी ठेक्का सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् ।
सम्झौतामा निर्माण व्यवसायी कम्पनीको तर्फबाट उज्ज्वलराज बानियाँ र पालिकाको तर्फबाट प्रमुख प्रशासासकीय अधिकृत युवराज आचार्यले हस्ताक्षर गरेका छन् ।
उक्त सडकखण्डको लागि गाउँपालिकाले २ करोड र केन्द्रीय सरकारबाट २ करोड रुपैँया बजेट उपलब्ध भएको छ भने बाँकी रकम अन्य स्रोतबाट संकलन हुने अपेक्षा गरिएको छ ।
उक्त सडकलाई प्रदेशको राजधानी हेटौंडाबाट नुवाकोट र रसुवा जोड्ने छोटो दुरीको मार्गको रुपमा हेरिएको छ भने सडक निर्माणपछि कैलाश र राक्सिराङ गाउँपालिकाका जनता लाभान्वित हुने छन् ।











