सगरमाथाको उचाइ ८ हजार ८ सय ४८.८६ मिटर

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मंगलबार दिउँसो एक पत्रकार सम्मेलनमार्फत सगरमाथाको उचाई बढेको जानकारी दिइएको हो ।
नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलनमा नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर रहेको सार्वजनिक गरिएको हो ।
नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो ।
मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गिरिएको हो ।
पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।
विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।
सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो ।
सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।
सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो ।