९१ लाखको गहुँको बीउ बिक्री भएन

मकवानपुर । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा गहुँ बीउ विक्री नभएपछि थन्किएको छ । कार्यालयको गोदाममा ९१ लाख रकम बराबरको गहुँको बिउ बिक्री नभएपछि थन्किएको हो ।
कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४ सय ८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १ सय ४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ ।
पछिल्लो पटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १ सय ४० मेट्रिक टन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयले जनाएको छ ।
कार्यालयले गहुँको बीउ प्रतिकेजी रु ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको थियो ।
पछिल्लो पटक निजी बीउ बिक्री उत्पादक कम्पनीले प्रतिकेजी रु ५५ सम्म पनि बिक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ बिक्री नभएको जनाइएको छ ।
बिक्री नभई राखिएको गहुँको बीउ समयमै बिक्री गर्न लिमिटेडको सञ्चालक समितिको बैठकबाट मात्रै रकम घटाउन सकिने अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ बिक्री गर्न पाइने छैन ।
कार्यालयको कार्य क्षेत्रअन्तर्गत चालु आवमा बागमती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश नं २ को बारा, पर्सा र रौतहटसहित अन्य जिल्लामा सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा गहुँको बीउ उपलब्ध गराउँदै आएको थियो ।
किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मङ्सिर मसान्तसम्म गहुँको बीउ बिक्री गर्ने गर्दछ ।