प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मकवानपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा ३६ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बोको अगुवाई तथा तेह्रथुमका सांसद लक्ष्मण तिवारीको समर्थनमा प्रस्ताव दर्ता भएको हो ।
प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेको भोलिपल्ट मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रसताव दर्ता भएको हो ।
त्यस्तै प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्री पनि राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् ।
सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् ।
केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको छ ।
नेकपा फुटसंगै यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।