भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्रीमा प्रस्ताव
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको हो ।
९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना सांसद रहेका छन् । नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।
दाहाल–नेपाल पक्षधरले २२ जनाभन्दा कम प्रदेशसभा सदस्य मुख्यमन्त्री राईसँग रहेको जिकिर गर्दै आएका छन् भने मुख्यमन्त्री राई पक्षधरले भने ३५ भन्दा बढी प्रदेशसभा सदस्यहरू आफूहरूसँग रहने दाबी गरिरहेका छन् ।
प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ । यसअघि मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई पदमुक्त गरेका थिए ।
प्रचण्ड–नेपाल पक्षका मन्त्रीहरुले शनिबार राजीनामा दिने तयारी गरिरेहका बेला मुख्यमन्त्री राईले हिजै उनीलाई पदमुक्त गरेका हुन् ।
मन्त्रीबाट पदमुक्त भएपछि आङ्बोले अब मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने बाटो खुलेको प्रतिक्रिया दिए ।











