चुनावका लागि निर्वाचन ‘क्यालेन्डर’ तयार गर्दै आयोग

हेटौडा न्युज
१४ पुष २०७७, मंगलवार १२:१६
;

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन ‘क्यालेन्डर’ तयार पार्न थालेको छ । वैशाख १७ र २७ मा तोकिएको प्रतिनिधिसभाको चुनावका लागि निर्वाचन ‘क्यालेन्डर’ तयार पार्न थालेको हो ।

निर्वाचनसम्म १ सय २० दिनको समयसीमा तोकेर चुनाव लक्षित विभिन्न कार्यक्रमको तयारीमा आयोग जुटेको हो ।

आयोगले आउँदो पुस २०÷२१ गतेबाट लागू हुने गरी कुन मितिमा के गर्नेजस्ता विषयहरूको पहिचान गरी निर्वाचन कार्यतालिका ल्याउने तयारी थालेको हो ।

सुरुमै मतदाता नामावली अद्यावधिक, मतदान केन्द्रको पुनरावलोकन र निर्वाचनका लागि दल दर्तालगायत कार्यक्रमहरू ल्याइने छ ।

आयोगले निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलनको कार्य रोकेको छ ।

आयोगले पुस ६ मा सबै जिल्लालाई पत्राचार गरी मतदाता नामावली संकलन रोक्न भनिसकेको थियो ।

त्यस्तै, अघिल्लो निर्वाचनमा कायम भएका मतदानस्थल, मतदान केन्द्रको पुनरावलोकन गरिने छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने समितिले मतदान केन्द्रको पुनरावलोकन गरी आयोगमा पठाउनुपर्छ । अघिल्लो निर्वाचनमा रहेका मतदान केन्द्रहरू फेरिएको हुन सक्ने वा अहिलेका लागि उपयुक्त नभए त्यसलाई परिवर्तन गर्नेलगायतको सिफारिस जिल्लास्थित समितिले गर्छ । मतदान केन्द्रअनुसारै मतदाता नामावलीसमेत टुंगिने भएकाले दुवै काम सँगैसँगै हुने आयोगले जनाएको छ ।

त्यस्तै, निर्वाचनलाई आवश्यक पर्ने सामग्रीहरूको पहिचानमा समेत आयोगको सचिवालय जुटेको छ । आयोगले निर्वाचनलाई आवश्यक पर्ने बजेटलगायतका विषयमा पनि आन्तरिक छलफल गरिरहेको छ ।

प्रतिनिधिसभाको पुनः स्थापनाको माग गर्दै सर्वोच्चमा रिट परेकाले संवैधानिक इजलासले यसको टुंगो नलगाएसम्म सरकारले तोकेको समयमै चुनाव हुनेरनहुने भन्नेचाहिँ निश्चित छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*