महिला राष्ट्रिय लिगमा वालिङले भित्र्यायो अफ्रिकन खेलाडी

काठमाडौं । महिला राष्ट्रिय लिग खेलन पहिलो पटक ४ जना अफ्रिकन खेलाडी नेपाल आएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक आयोजना गरेको महिला डबल राउण्ड रोविन लिग खेल्न चार अफ्रिकन खेलाडी नेपाल आएका हुन् ।
बुधबारदेखि सुरु भएको लिग खेल्न उनीहरु नेपाल आएका हुन् । लिगमा स्याङ्जाको वालिङ नगरपालिकाले अफ्रिकन राष्ट्र क्यामरुनका चार खेलाडी अनुबन्ध गरेको हो।
क्यामरुनबाट मेथो एलेदिइ रुथ, केओमेग्ने डिजोमो भेनेस्सा नाइले, डिजोउब्बी सेलिने डायने, टोउटा ओर्मेला एभान्के नेपाल आएका छन् ।
महिला राष्ट्रिय लिगमा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिका र महानगरपालिका गरी कूल ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी भित्र्याउन थालेका छन् ।
जसमा वालिङले क्यामरुनबाट चार जना अनुबन्ध गर्दा विराटनगर महानगरपालिकाले भारतका चार खेलाडी अनुबन्ध गरेको छ ।
यसअघि शहीद स्मारक ए डिभिजन लिग खेल्न अफ्रिकाका विभिन्न राष्ट्रहरुबाट पुरुष खेलाडी नेपाल आए पनि महिला खेलाडी भने पहिलो पटक आएका हुन् ।
लिगमा वालिङले बिहीबार आफ्नो पहिलो खेलमा विराटनगर महानगरपालिकासँग १÷१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।