प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध मानहानीको मुद्दा सवोच्च अदालतमा पुगेको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध मानहानीको मुद्दा लिएर वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य सर्वोच्चमा पुगेका हुन् ।
आइतबार अधिवक्ता आचार्यले प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको मुद्दा अदालतमा दर्ता हुने प्रक्रियामा रहेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको अवस्थामा रिट निवेदकको तर्फबाट वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट अदालतको मानहानी भएको रिट निवेदकको दावी छ ।
माघ ९ गते कार्की बेङ्क्वेटमा आफ्नो पार्टीको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीतर्फ लक्षित गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भनेकोमा अदालतको मानहानी भएको जिकिर रिट निवेदनमा गरिएको छ ।