कुखरेनी खोलाको पुल ७ बर्षदेखि अलपत्र, स्थानीयलाई सास्ती

थुपारिएको ग्राबेलका कारण कुष्माण्ड समेत जोखिममा, सम्बन्धित निकाय मौन
हेटौडा न्युज
१८ जेष्ठ २०७८, मंगलवार १२:१२
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ९ र १३ नम्बर वडा जोड्ने कुखरेनी खोलाको पक्की पुल लामो समयसम्म निर्माण नहुँदा बर्षातको समयमा स्थानीयले सास्ती खेप्नु परेको छ । पुल निर्माणमा कुनै प्रगति नभएपनि पटकपटक निर्माण कम्पनीलाई स्थानीय निकायले समय थप गरिरहेको छ ।

त्यति मात्र होईन, निर्माण कम्पनीले पुल बनाउने क्रममा खोला थुनिएको कारण हेटौंडा उपमहानगरपालिका–९ स्थित मकवानपुरकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल कुष्माण्ड सरोवर त्रिवेणीधाम बगाउने खतरा समेत बढेको छ । पुल निर्माणका लागि थुपारिएको ग्राबेलका कारण बाढी आउँदा खोलाले बहाव परिवर्तन गर्ने गरेको छ । पुल भन्दा माथिबाट बाढी पस्दा धार्मिक पर्यटकीय स्थल कुष्माण्ड सरोवर त्रिवेणीधाम लगायत खेती योग्य जमिन र चौधघरे बस्ती समेत जोखिमा परेको हो ।

समयमै पुल निर्माणका लागि थुपारिएको ग्राबेल पन्छ्याईएन भने वर्षामा कुष्माण्ड सरोवर लगायत वरपरका खेति योग्य जमिन बगाउने खतरा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधामका अध्यक्ष ईश्वरी न्यौपानेले बताएका छन् । उक्त विषयमा प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालालाई ध्यानाकर्षण समेत गराईएको उनले जानकारी दिए ।

पुल निर्माण हुन लागेको ७ वर्ष भईसकेको छ । वर्षातको समयमा ढलान गर्ने भनेर ग्राभेल थुपारी खोला थुन्दा समेत नियमनकारी निकाय मौन बसेका छन् । ‘ठूलो बर्षात हुने बित्तिकै नजिकको बस्ती, कुष्माण्ड सरोवर त्रिवेणीधाम र खेतीयोग्य जमिन समेत बगाउने खतरा भएकाले प्रमुख जिल्ला अधिकारीलाई धामको संरक्षण गराई दिन गरिएको पत्राचारको बेलैमा सुनुवाई नभए ठुलो क्षति हुने स्थिति छ’, कुष्माण्ड सरोबर त्रिवेणीधामका अध्यक्ष न्यौपानेको भनाई रहेको छ ।

लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीयलाई सास्ती त छदैँ छ, पुल निर्माणका लागि खनिएको खाल्टोमा समेत बारम्बार दुर्घटना हुने गरेको छ । केहि दिन अघि पुलका लागि खनिएको खाल्टोमा परि एक युवकको ज्यान गएको थियो । दुई दिन अघि खोलाले कार समेत बगाउँदा क्रेनले उद्धार गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*