ऋषि धमलाले नेपाल प्रेस काउन्सिलमा मौखिक बयान दिए
मकवानपुर । पत्रकार ऋषि धमलाले नेपाल प्रेस काउन्सिलमा मौखिक बयान दिएका छन् ।
काउन्सिलको आचारसंहिता अनुगमन समितिले करिब एक घण्टा उनको बयान लिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्कने क्रममा प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र धमलाले प्रत्यक्ष प्रशारण गरेको विषयमा काउन्सिलले उनको बयान लिएको हो ।
धमलाले प्रधानमन्त्रीको भ्रमणका विषयमा जनतालाई छिटो सुसूचित गर्नका लागि आफूले विमानभित्र प्रत्यक्ष प्रशारण गरेको भन्दै उनले यदि आफ्नो क्रियाकलापबाट विमानका कर्मचारीहरूलाई अप्ठेरो परेको भए क्षमा याचना गर्ने बताए । नियामक निकायका रूपमा काउन्सिलले आफूमाथि गरेको निगरानीलाई सकारात्मक रूपमा लिएको धमलाले बताए । यसले पत्रकारिता जगतलाई शुद्धीकरण गर्न मद्दत मिल्ने उनले विश्वास व्यक्त गरे ।










