चरेस खरिद गर्ने विकसहित मकवानपुरका चारजना पक्राउ
२० केजी चरेससहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ बेनिघाट रोराङ–४ स्थित मलेखु–ताल्ती कच्ची सडकखण्डबाट अवैध लागूऔषध सहित उनीहरुबाट चरेस बनाउन प्रयोग हुने एक लिटर झोल पदार्थसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
मकवानपुर राक्सिराङ–९, काफलपानी बस्ने २८ वर्षीय सुकलाल गोम्बो, १९ वर्षीय भिमवहादुर गोम्वो, २२ वर्षीय पासाङ तामाङ, काछामान स्याङ्गतान र चरेस खरिद गर्न आएका म्याग्दी जिल्ला मालिका–२ निवासी ३० वर्षीय तिलक विकलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त पदार्थ र नगदसहित उनीहरुलाई पक्राउ गरिएको गजुरीस्थित प्रहरी नायब उपरिक्षक खडगबहादुर खडकाले जनाएको छ ।











