तिमीले दिएको गुलाफ ओइलिसक्यो, चोट भने आलै छ

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार १९:५२
;

विश्वभर आज ‘भ्यालेन्टाइन डे’को उत्सव छ । आ–आफ्ना प्रेमी प्रेमिकालाई मात्रै होइन मन पराएकाहरुलाई गुलाफको फूल दिएर प्रेमिल शुभकामना साटासाट गरिरहेका छन् । तर, प्रिय, तिमीले दिएको गुलाफको फूल ओइली सकेको छ । त्यो फूललाई जोगाउन मलाई निकै हम्मेहम्मे परेको छ । म चहान्छु, तिमीले दिएको त्यो गुलाफको फूल तिमीलाई नै फिर्ता गर्न । तिमीले गुलाफको फूलसँगै दिएका प्रेममय शुभकामना उहिल्यै फिर्ता लग्यौ, अब ओइलिएको यो गुलाफको फूल लिन कहिले आउँछौ ? म हरेक भ्यालेन्टाइन डेमा तिम्रो बाटो हेरेर बसिरहेको छु र नआउन्जेल बसिरहने छु । 

भ्यालेन्टाइन डेको भोलिपल्टबाट जसरी यसको चर्चा हुन छाड्छ, त्यसरी नै आज दिएका शुभकामनाहरु धमिल बन्दै जाने रहेछ, यो मेरो व्यक्तिगत अनुभव हो । पाँच वर्ष अघि तिमीले जीवनभर नछुट्टिने गरी गुलाफको फूलसहित दिएको प्रेमिल शुभकामनाहरु आजसम्म चोट बनेर मेरो जीवनमा दुखाइरहेको छ ।

हरेक भ्यालेन्टाइन डेको दिन सम्झिरहन्छु, त्यो दिन, जुन दिन तिमीले मलाई गुलाफको फूल दिँदै चुम्बन गरेर भनेका थियौ– आइ लभ यू डार्लिङ, हामी कहिल्यै छुट्टिने छैनौँ, तिमीले धोका दिएनौ भने । मैले पनि जवाफ दिँदै भनेको थिएँ, सेम टू यू डियर, छुट्टिने कुरा म कल्पना पनि गर्न सक्दिनँ ।

यसरी नै हाम्रो प्रेममय सम्बन्ध अघि बढिरह्यो । तिमीलाई थाहा छ, म तिमीलाई कति माया गर्थें । तिमीलाई नदेख्दा खाना खानसमेत सक्दिन थिएँ । तर, आज विवश छु, अतितको पीडामा हाँसेरै बाँच्नका लागि खाना खाने गरेका छु । बिर्सन चाहन्छु अतित, तर हरेक फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डेले फेरि आलो बनाएर जान्छ । 

प्रेम सम्बन्ध कायम भएको दुई वर्षमै तिमी कसरी मबाट अलप भयौ । तिमी आज कहाँ छौ ? तिम्रो अनुपस्थितिले मलाई कति गाह्रो भइरहेछ, त्यो कल्पनासमेत गर्न सक्दैनौ । जसलाई भविष्य देखेँ, उही आज मबाट हरायो वा खोसियो, कुनै औपचारिक खबर छैन । सुनेको छु, तिमी कसैको प्यारा भइसक्यौ रे ।

यदी यो सत्य हो भने भन, ममा के कमि देख्यौ र ? मसँग किन ग¥यौ प्रेमको नाटक ? कसैको भावनामा खेलवाड गर्ने हिम्मत तिमीमा कहाँबाट आयो ? मलाई देखाएको तिम्रो शालिनता र हार्दिकताले यी सबै पत्याउन मलाई गाह्रो भइरहेको छ । तिमीलाई मन दुखाउने कुनै कार्य गरेको मलाई सम्झना छैन । तर, मेरो जीवनबाट एकाएक तिम्रो पहलायनले मलाई आजपर्यन्त पीडा बनेर बसिरहेको छ । 

तर प्रिय, म आशावादी छु,  तिमी आउने छौ र भन्ने छौ, तिमीले सुनेका सबै गलत हुन्। भनिन्छ, आशा र विश्वासमा संसार अडिएको छ । सायद यसैले होला म पनि तिमी आउने आशमा आँशु पिएर बाँचिरहेको छु । जहाँ छौ मेरा प्रिय, फेरि पनि ह्याप्पी भ्यालेन्टाइन डे । स्रोत: क्यानाडा नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*