शहीद स्मारक ए डिभिजन लिगः इतिहास रच्दै पहिलो पटक लिग च्याम्पियन बन्यो मछिन्द्र
शहीद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को च्याम्पियन मच्छिन्द्र क्लब बनेको छ । दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १—० गोल अन्तरले पराजित गर्दै मछिन्द्र क्लब लिग च्याम्पियन बनेको हो । च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ । खेलको ३३ औं मिनेटमा उपहार पाएको गोलले नै मच्छिन्द्रलाई यो संस्करणको च्याम्पियन बनायो ।
मछिन्द्रका रन्जित धिमालले हानेको फ्रीकिकमा विकासले हेड गरेको बल आफ्नै पोष्टमा गोल भएको हो । त्यसपछि आर्मीका विकेश कुथु घाईते भएका थिए । लगत्तै उनले मैदान छाडेका थिए ।
दोस्रो हाफमा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो । ६१ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले पेनाल्टी बक्स भित्र बाट हानेको बल आर्मीका वैकल्पिक गोलकिपर विश्वास चौधरीले बचाए ।
६७औं मिनेटमा आर्मीले अवसर सदुपयोग गर्न सकेन । टंक बहादुर बस्नेतको पासमा कप्तान भरतल खवासले पेनाल्टी बक्सबाट गरेको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । आर्मीका फरवार्डहरु मछिन्द्रको कम्प्याक्ट डिफेन्स तोड्न असफल रहे ।
ईन्जुरी टाईमको पहिलो मिनेटमा आर्मीका विकास तामाङको प्रहार मछिन्द्रका विशाल राईले गोललाईनबाट क्लियर गर्दै मछिन्द्रको संकट टारेका थिए ।
९० दिनको निलम्बन अवधी सकाएका विमल घर्ती मगरले मछिन्द्रबाट खेलेका थिए । उनले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
लिगमन यसअघि खासै दर्शकको उपस्थिती नभएपनि अन्तिम खेल हेर्न रंगशालामा करिब १० हजार दर्शक उपस्थित थिए ।
आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुक्यो । यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिसंग अन्तिम खेलमा पराजित हुादे उपाधिबाट बन्चित भएको थियो ।