कोरोनाको सन्त्रास: एन्फाले फुटबलका गतिविधि तत्कालका लागि रोक्ने
विश्व फुटबलको नियामक निकाय फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले एसियामा हुने फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ अन्तरगतका खेल रोक्न परीपत्र गरेको छ । कोरोना संक्रमण विश्वभर फैलदै गएपछि नेपाल र अस्ट्रेलियाबीचको खेल पनि तत्कालका लागि सर्ने भएको छ ।
फिफा र एएफसीले बिहीबारै तत्काल एसियामा हुने खेल रोक्न परिपत्र गरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि उक्त विज्ञप्तिलाई सदर गर्दै अस्ट्रेलिया र चाइनीज ताइपेइसँगको खेल रोकिएको जनाएको छ ।
यस्तै, नेपालभित्र हुने फुटबलका गतिविधि पनि तत्कालका लागि रोकिने एन्फाले जनाएको छ ।
शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा भएको छलफल पछि एन्फाले तत्काल हुने तय भएका सबै प्रतियोगिता रोक्ने तयारी गरेको हो ।
पहिलो पटक हुने तय भएको महिला फुटबल लिग सर्ने छ भने राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग समेत सर्ने सम्भावना रहेको एन्फा स्रोतले बताएको छ । एन्फाले कुन–कुन प्रतियोगिता रोक्ने भन्ने विषयमा आजै विज्ञप्ति जारी गर्ने तयारी गरेको छ ।