तीन गुणा बढी पैसादिएर अमेरिकाले मास्क हडपेको फ्रान्सको आरोप
अमेरिकाका खरिददारहरूले चिनियाँलाई पैसाको मुठो फालेर फ्रान्सलाई पठाउन ठिक्क पारेको लाखौं मास्कहरू आफैंले हडपेको आरोप दुईजना फ्रान्सेली अधिकारीहरूले लगाएका छन् । चीनबाट फ्रान्सको सबभन्दा बढी प्रभावित क्षेत्रमा आउन लागेको मास्क अमेरिकाले बीचैमा लिइदिएको उनीहरूको आरोप छ ।
ती मास्कहरू शांघाई विमानस्थलबाट फ्रान्सका लागि उड्न ठिक्क परेको विमानमा रहेको तर अमेरिकी खरिददारहरूले तीन गुणा बढी पैसा दिएर आफैंले लगेको फ्रान्सेली अधिकारी बताउँछन् ।
डा जीन रोटनरले फ्रान्सका लागि भनेर पठाउन ठिक्क पारेर राखिएका लाखौं मास्क बढी पैसा तिर्नेले लगिदिएको गुनासो गरे । फ्रान्सका अस्पतालमा रहेका आईसीयूमा कोभिड–१९ का रोगीहरूको भीडभाड लागेकोले मास्क आफूहरूलाई जरूरी रहेको उनको भनाइ छ ।
‘धावनमार्गमै उनीहरू पुगे, पैसाको मुठो निकाले अनि मास्क किनिदिए । हामीले यसको विरोध गर्नुपर्छ,’ उनले आरटीएल रेडियोसँग कुरा गर्दै भने ।
रोटनरले खरिददारहरूको परिचय खुलाएनन् । उनीहरू कसका लागि काम गर्छन् अनि अमेरिकाको कुन राज्यमा मास्कहरू पठाउन लागिएको हो भन्ने पनि उनले खुलाएनन् ।
तर चीनबाट मास्क किन्ने प्रक्रियामा संलग्न अर्का एक फ्रान्सेली अधिकारीले उनीहरू अमेरिकी सरकारको प्रतिनिधि भएको बताए ।
द गार्डियन










