शान्ति प्रक्रिया बचाउन सरकारले १ सय जना तालिबानी कैदी रिहा गर्ने
अफगानिस्तान सरकारले १०० जना तालिबानी कैदीलाई रिहा गर्ने एक अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।
तालिबान विद्रोहीहरूले काबुलसँग व्यर्थको वार्ता नगर्ने भनी बयान दिएको भोलिपल्ट कैदी रिहा गर्न लागिएको हो ।
सरकार र तालिबानबीच गत सातादेखि कैदी आदानप्रदानका विषयमा वार्ता चलिरहेको छ ।
तर यो आदानप्रदान समस्याग्रस्त छ किनकि तालिबानले आफ्ना १५ शीर्ष कमान्डर रिहा गर्नुपर्ने माग राखेको काबुलको दाबी छ । विद्रोहीहरूले भने अफगानी अधिकारीहरू अनावश्यक रूपमा समय नष्ट गर्नतिर लागेको आरोप लगाए ।
‘एक सय तालिबान कैदीहरू आज रिहा गरिनेछन्,’ जाविद फैसलले भने । उनी अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता हुन् ।
‘हामीले सहमति बमोजिम आफ्नो कर्तव्य पूरा गरेका छौं । शान्ति प्रक्रिया अगाडि बढ्नुपर्छ ।’
रिहा गरिएकामा १५ जना कमान्डर नरहेको फैसलले बताए । तालिबानको आगामी कदमका आधारमा थप कैदीहरू रिहा गरिने उनको भनाइ छ ।
तालिबानले यसमा प्रतिक्रिया जनाइसकेको छैन । एजेन्सी










