मुम्बइका ५३ पत्रकारमा कोरोना संक्रमण
भारतको मुम्बईमा ५३ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको छ । मुम्बईको सिटी सिभिल अस्पतालले जानकारी दिए अनुसार सोमबार गरिएको परीक्षणमा ५३ जना पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको हो ।
भारतको चर्चित अनलाइन द हिन्दुका अनुसार मुम्बईमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबार सम्म २ हजार ७२४ पुगेको छ ।
मुम्बईमा मृत्यु हुनेको संख्या १ सय ३२ पगिसकेको छ । कोरोना फैलिँदै गएपछि १६ र १७ अप्रिल दुई दिन चलाइएको विशेष परीक्षण अभियानका क्रममा १७१ जना पत्रकारको नमुना लिइएको थियो।
त्यो नमुना टेलिभिजन, रेडियो र छापामाध्यममा काम गर्ने सबै पत्रकारको लिइएको थियो। जसमा छापामा काम गर्ने पत्रकार र टेलिभिजनमा काम गर्ने क्यामेरा पर्सन पनि थिए।
१ सय ७१ पत्रकारमध्ये ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ । ब्रिहान मुम्बई नगर परिषदका प्रवक्ता विजय खाबालेले भने, उनीहरु सबैको आइसोलेसनमा राखेर उपचार थालिसकेका छौं। स्वास्थ्यकर्मीले ती पत्रकारसँग भेट भएका अन्य मानिसको खोजी पनि थालिसकेको छ ।










