अमेरिकामा एकैदिन २ हजार ८ सय बढीको मृत्यु, संक्रमितको संख्या ८ लाख बढी
अमेरिकामा कोरोना भाइरस संक्रमणको कारण एकैदिन २ हजार ८ सय दुई जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४५ हजार ३ सय १६ पुगेको छ । यसअघि अप्रिल १५ मा कोरोनाबाट २ हजार ६ सय १८ जनाको मृत्यु भएको थियो । त्यसयता मंगलबार भएको दैनिक मृत्यु हालसम्मकै उच्च हो ।
अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८ सय ५ पुगेको छ । जसमा मंगलबार एकैदिन २७ हजार ४६ संक्रमित थपिएका छन् । साथै, ८२ हजार ९२३ जना भने पूर्ण रूपमा निको समेत भइसकेका छन् ।
अमेरिकामा आइतबार दैनिक मृत्यु संख्या निकै घटेको थियो । आइतबार त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५६१ जनाले ज्यान गुमाएका थिए । तर सोमबार फेरि एकै दिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९ सय ३९ को मृत्यु भएको थियो ।
त्यहाँको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण मृत्यु हृुनेको संख्या १९ हजार ६ सय ९३ पुगेको छ । मंगलबार मात्र त्यहाँ ७ सय ६४ को मृत्यु भएको छ भने ४ हजार ४ सय ६१ नयाँ संक्रमित फेला परेका छन् ।
सोमबार त्यहाँ ६३१ जनाको मृत्यु भएको थियो भने ४ हजार ८७९ नयाँ संक्रमित फेला परेका थिए । आइतबार त्यहाँ एकै दिनमा ६२७ जनाको मृत्यु भएको थियो । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघेको छ ।










