कोरोनाको कारण २ लाख बढीको मृत्यु, ८ लाखबढीको सफल उपचार
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४ सय ५५ पुगेको छ । त्यस्तै २८ लाख ९२ हजार ५ सय ८ कोरोना संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकका अनुसार विश्वभर ८ लाख १५ हजार ६ सय ५८ निको भएर घर फर्किसकेका छन् ।
मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ । अमेरिकामा मात्र ५३ हजार ५ सय ११ ले ज्यान गुमाएका छन् भने ९ लाख ३६ हजार ६१६ जनामा संक्रमण पुष्टि भइसकेको छ । हालसम्म संक्रमितमध्ये करिब १ लाख निको भएका छन् ।
यसैगरी स्पेनमा २ लाख २३ हजार ७ सय ५९ लाई कोरोना संक्रमण हुँदा २२ हजार ९ सय २ ले ज्यान गुमाएका छन् । त्यस्तै ९५ हजार ७ सय ८ जना निको भएका छन् ।
यूरोपियन मुलुकमध्ये इटालीमा सबभन्दा बढीको ज्यान गएको छ । हालसम्म इटालीमा २६ हजार ३ सय ८४ ले ज्यान गुमाएका हुन् । त्यस्तै १ लाख ९५ हजार ३५१ मा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ६३ हजार १ सय २० निको भएर घर फर्किएका छन् ।
पछिल्लो पटक रुसमा संक्रमण तीव्र देखिएको छ। तर मृत्युदर भने कम देखिएको छ। हालसम्म ७४ हजार ५८८ मा संक्रमण पुष्टि भइसक्दा ६ सय ८१ ले ज्यान गुमाएका छन्।
त्यस्तै छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ८२५ पुगेको छ। २६ हजार २८३ मा संक्रमण पुष्टि हुँदा ५ हजार ९३९ भने निको भइसकेका छन्।










