अमेरिकी आक्रमणमा मारिए प्रमुख जनरल कासिम सुलेमानी

हेटौडा न्युज
१८ पुष २०७६, शुक्रबार १७:५५
;

अमेरिकी रकेट आक्रमणमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु भएको छ। शुक्रबार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा उनी मारिएका हुन्।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई ‘राष्ट्रपतिको आदेशमा’ मारिएको बताएको छ। इरानी विदेश मन्त्री जावेद जरीफले सुलेमानीको हत्या ‘अन्तर्राष्ट्रिय आतंकवादको कार्य’ भएको प्रतिक्रिया दिएका छन्। उनले ट्वीट गर्दै अमेरिकाको यस्तो किसिमको ‘दुष्टता’को सम्पूर्ण परिणाम भोग्नुपर्ने बताएका छन्।

यसैगरी इराकी राष्ट्रिय टेलिभिजनले इराकी मिलिसिया कमान्डर अबु महदी अल मुहन्दीस पनि मारिएको बताएको छ। जनरल सुलेमानी कारमा रहेको बेला अमेरिकी हवाई आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यस अघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणमा इरानी पक्ष दोषी रहेकाले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ चेतावनी दिएका थिए। इराकका काम चलाउ प्रधानमन्त्री अदेल अब्दुल मेहदीलाई मंगलबार फोन गरेर घटनाप्रति ट्रम्पले आपत्ति जनाएका थिए। अमेरिकी सुरक्षाकर्मीले आइतबार इराक र सिरियाका पाँच ठाउँमा आक्रमण गरेका थिए। इराकी अर्धसैन्य बल हजबुल्लाहको नियन्त्रणमा रहेका ठाउँमा अमेरिकी सुरक्षाकर्मीले आक्रमण गरेका हुन्।

अमेरिकी सहयोगमा गत साता अन्त्यमा गरिएका आक्रमणमा करिब दुई दर्जन प्रदर्शनकारी (लडाकु) मारिएपछि बग्दादमा इराननिकट एक समूहले गरेको प्रदर्शनका क्रममा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासको पर्खाल वरपरबाट आक्रमण प्रयास गरेका स्थानीय सञ्चारमाध्यमले देखाएका छन् ।

केही दिनपहिले हवाई आक्रमणमा इराकी नागरिक मारिएपछि आक्रोशित प्रदर्शनकारीले राजदूतावासको पर्खालमा आगजनी गर्दै राजदूतावास परिसरमा ढुंगामुढासमेत गरेका थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*