इरानमा बोइङ विमान दुर्घटना, विमानमा सवार १८० यात्रुको मृत्यु भएको आंशका

हेटौडा न्युज
२३ पुष २०७६, बुधबार १७:२०
;

इरानमा बुधबार बिहान भएको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्य मरेको आशंका गरिएको छ।

१७० यात्रु र १२ जना चालक दलका सदस्य बोकेको बोइङ ७३७-८०० जहाज बुधबार बिहान स्थानीय समयअनुसार सवा ६ बजेतिर तेहरानको इमाम खामोनी विमानस्थलनजिकै दुर्घटनामा परेको थियो।  

इरानका सरकारी सञ्चारमाध्यमहरूले युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि  दुर्घटनामा परेको जनाएका छन्।

दुर्घटनापछि चार वटा हेलिकप्टर र दर्जन बढी एम्बुलेन्स उद्धारमा खटिएका थिए।

तर जहाजमा आगो लागेकाले कसैलाई पनि जिवित फेला पार्न सकिएको छैन।

इरानमा रेडक्रसको काम गर्ने इरान रेड क्रिसेन्टले दुर्घटनामा कोही  बाँच्ने सम्भावना नरहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ।  

सामाजिक सञ्जालहरूमा सार्वजनिक भएका भिडिओमा उक्त जहाज हल्लिँदै आएर जमिनमा बजारिएको देखिन्छ।

पछिल्लो समय  इरान-अमेरिका सम्बन्धमा तनाव चुलिएको छ। बुधबार बिहानमात्रै इरानले इराकस्थित दुइटा अमेरिकी सैन्य अड्डामा मिसाइल गरेको छ। जहाज दुर्घटनामा भने अमेरिकासँगको तनावको सम्बन्ध नभएको जनाइएको छ।  

बोइङले उक्त जहाज सन् २०१६मा एयरलाइन्सलाई हस्तान्तरण गरेको थियो।  गत वर्ष बोइङका ७३७ म्याक्स मोडलका दुई जहाज लगालग दुर्घटनामा परेपछि अहिले उक्त जहाजको उत्पादन बन्द गरिएको छ।   एजेन्सी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*