‘चार दूतावास इरानी हमलाको जोखिममा !’ :- ट्रम्प

हेटौडा न्युज
२६ पुष २०७६, शनिबार २१:२३
;

अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले इरानी कमाण्डर कुसाम सुलेमानीका कारण अमेरिकी फौजमाथि गम्भीर जोखिम भएकाले उनको हत्या गरिएको प्रतिक्रिया दिए ।

गत साता इराकको बगदादमा अमेरिकी हवाइ हमलाबाट सुलेमानीको हत्या पनि भइसकेको छ ।सोही घटनापछि इरानले अमेरिका विरुद्ध श्रृंखलावद्ध मिसाइल हमला गरेको छ । अमेरिकाले पनि चेतावनी दिँदैआएको छ ।

यससँगै दुई देश युद्ध उन्मुख देखिएका छन् । तर इरानी मिसाइल हमलापछि भने अमेरिका तत्काल सैन्य कारवाहीतर्फ जाने तरखरमा छैन । यही विषयलाई लिएर अमेरिकी राजनीतिमा पनि विवाद र बहस हुन थालेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले चारवटा अमेरिकी राजदूतावास इरानी हमलाको जोखिममा रहेको प्रतिक्रिया दिएका थिए । तर उनको यस्तो प्रतिक्रियाका लागि प्रमाण आवस्यक भएको भन्दै टिप्पणी हुन थालेको छ ।

डेमोक्र्याटिक सिनेटर क्रिस मर्फीले यसको जवाफ माग्दै टिप्पणी गरेका छन् । मर्फीले भनेका छन्, ‘प्रष्ट बनौँ, यदी चार दूतावासमा हमला हुने केही प्रमाण छन् भने बुधबारको ब्रिफिङमा प्रशासनले भन्नुपथ्र्यो ।’

राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा इरानी हमलाको खतरा भन्दै प्रतिक्रिया दिएका थिए । तर कंग्रेसमा भने यसबारे कुरा नै उठेन । ‘अथवा कंग्रेसभन्दा उच्च स्तरको ब्रिफिङ फक्स न्युजले पाउँछ । अथवा हमलाको कुनै खतरा नै छैन !’ सोही कारण मर्फीले ट्वीटरमार्फत सोधेका छन् ।

ट्रम्पले भने सुलेमानीको हत्याको क्रममा इरानले चार दूतावासमा हमला गर्ने खतरा औंल्याएका थिए । फक्स न्युजसँगको अन्तर्वार्तामा उनले यस्तो दावी गरेका हुन् । तर कुन कुन दूतावास भनेर विस्तृतमा खुलाएका छैनन् । उनको सोही प्रतिक्रियाबारे विपक्षी दलका नेताहरुले प्रमाण र तथ्य हुनुपर्ने वा गलत बोलेको भन्दै दबाव दिएका हुन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*