ताइवानमाथि हमला गरे चीनलाई महंगो पर्नेछ: राष्ट्रपति वेन
ताइवानकी नवनिर्वाचित राष्ट्रपति साई इङ वेनले आफ्नो देशमाथि चीनले हमला गरे त्यो उसलाई निकै महंगो पर्ने बताएकी छन्।
गत शनिबार भएको चुनावमा दोस्रो पटक राष्ट्रपति चुनिएकी ६३ वर्षीया वेनले बेलायती प्रसारण संस्था बिबिसीसँग कुरा गर्दै पछिल्ला तीन वर्षमा बेइजिङबाट निरन्तर धम्की आइरहेको बताइन्।
‘हामीलाई निकै ठूलो दबाब छ। तर पछिल्ला तीन वर्षदेखि हामीले चीनलाई भनिरहेका छौं यथास्थिति जारी राख्नु नै हाम्रो रणनीति हो। मलाई लाग्छ चीनका लागि हाम्रो यो निकै मैत्रीपूर्ण रवैया हो,’उनले भनिन्।
उनले आफू बेइजिङसँग कुराकानी गर्न तयार भए पनि दोस्रो कार्यकालमा चीनबाट झन् धेरै दबाब आउनेमा पनि सचेत भएको बताएकी छन्।
‘तपाईं नै पनि बेला युद्ध हुने आशंकालाई इन्कार गर्न सक्नुहुन्न। कुरा यत्ति हो कि तपाईंले आफूलाई तयार राख्नुपर्छ र आफ्नो बचाउका लागि क्षमताको विकास गर्नुपर्छ,’ वेनले भनिन्।
के ताइवान चीनसँग युद्ध गर्न तयार छ त भन्ने प्रश्नमा उनले भनिन्- हामी पूरा प्रयास गरिरहेका छौं आफ्नो क्षमतालाई बलियो बनाउन। ताइवानमा हमला गर्नु चीनका लागि निकै महंगो पर्नेछ।
उनले चीनले ताइवानलाई इज्जत गर्नुपर्ने तर्क गरिन्।
‘हाम्रो एक अलग पहिचान छ र हामी एक अलग देश हौं। यसविरूद्ध कुनै विचार उठ्छ भने युवाहरू त्यसको विरोधमा उभिनेछन्। उनीहरू त्यसलाई स्वीकार गर्ने छैनन्,’ वेनले भनिन्,‘हामी एक प्रसिद्ध लोकतन्त्र हौं। हाम्रो मजबुद् अर्थ व्यवस्था छ र हामी चीनको सम्मानका लागि योग्य छौं।’
चीनले एक चीन नीतिअन्तर्गत ताइवान पनि आफ्नो हिस्सा भएको ठान्दछ। कतिपय देशले एक चीन नीतिको समर्थनमा ताइवानलाई छुट्टै देशको मान्यता दिएका छैनन्।
ताइवानमा भने बेइजिङको विरोधमा ठूलो मत छ।
तीमध्ये राष्ट्रपति वेन एक हुन्। गत शनिबार भएको चुनावमा उनले ५७ प्रतिशत अर्थात् ८२ लाख मत पाएकी छन्। उनका प्रतिष्पर्धी उम्मेदवार हान किओ-यूले ३९ प्रतिशत मत पाए।
पराजित यू बेइजिङसँग निकट सम्बन्ध भएका व्यक्ति हुन्।
यसपालिको चुनाव ताइवानी नागरिकले बेइजिङलाई हेर्ने दृष्टिकोणबारेको जनमत संग्रहजस्तो मानिएको थियो।
यो चुनावमा संस्थापनविरोधी वेन भारी मतसहित विजय भएपछि बेइजिङलाई धक्का लागेको विश्लेषकहरूले बताएका छन्।
वेनको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले संसदमा पनि बहुमत पाएको छ।
चीनले सन् १९४९मा गृहयुद्ध अन्त्य भएदेखि नै ताइवानमाथि दाबी गर्दै आएको छ।
एक चीन नीतिअन्तर्गत ताइवान पनि चीनमा गाभिन पर्ने उसको तर्क छ।
वेन राष्ट्रपतिमा फेरि निर्वाचित भए पनि आफूले दाबी नछोड्ने चीनले बताएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति चुनिने कुरा ताइवानको आन्तरिक मामिला भएको बताएको छ।
‘ताइवानभित्र के परिवर्तन हुन्छ भन्ने कुराको खासै केही अर्थ छैन। आधारभूत तथ्य के हो भने विश्वमा एउटामात्र चीन छ र ताइवान त्यही चीनभित्र पर्छ भन्ने कुरा कहिल्यै परिवर्तन हुँदैन,’ विज्ञप्तिमा भनिएको छ। एजेन्सी










