घुस लिएको अभियोगमा पूर्वप्रमुखलाई साढे १३ वर्ष कैद
चीनको तियानजिङ शहरस्थित एक अदालतले इन्टरपोलका पूर्व प्रमुख मेङ होङवेङलाई साढे १३ वर्षको जेल सजाय सुनाएको छ ।
चिनियाँ राजनीतिज्ञ तथा इन्टरपोलका पूर्वप्रमुख होङवेङलाई भ्रष्टाचारको अभियोगमा मंगलबार साढे १३ वर्षको जेल सजाय सुनाइएको हो । अदालतको फैसलाविरुद्ध उनले पुनरावेदन नगर्ने चिनियाँ समाचार माध्यमले जनाएका छन् ।
होङवेङले गत वर्षको जुलाईमा आफूले घुस लिएर भ्रष्टाचार गरेको स्वीकार गरेका थिए । उनलाई पक्राउ गरी चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले भ्रष्टाचारबारे छानबिन गरेको थियो ।
छानबिनबाट होङवेङले राज्यकोषको हिनामिना गरेको, पदको दुरुपयोग गरेको र पार्टीको निर्णय मान्न अस्वीकार गरेको भेटिएको थियो ।
इन्टरपोलले सन् २०१८ को अन्त्यतिर होङवेङले संस्थाको अध्यक्षबाट राजीनामा दिएको जनाएको थियो । चीन आउने क्रममा उनी सम्पर्कविहीन भएको केही दिनपछि इन्टरपोलले उक्त जानकारी दिएको हो ।
होङवेङ चिनियाँ राजनीतिज्ञ समेत हुन् । उनी सन् २००४ देखि २०१८ सम्म चीनको सार्वजनिक सुरक्षा मन्त्रालयमा उपमन्त्री समेत बनेका थिए । उनी सन् २०१६ देखि २०१८ सम्म प्रहरीसम्बन्धी अन्तर्राष्ट्रिय संस्था इन्टरपोलका अध्यक्ष बनेका थिए ।
सन् २०१८ को अक्टोबर महिनामा होङवेङले इन्टरपोलको प्रमुखबाट राजीनामा दिएका थिए । चिनियाँ अधिकारीहरूले भ्रष्ट्राचारको आरोप लगाउँदै गिरफ्तार गरेपछि उनको राजीनामा आएको थियो ।
सन् १९५३ मा जन्मेका होङवेङ सन् १९७५ मा चिनियाँ कम्युनिष्ट पार्टीमा आबद्ध भएका थिए । फौजदारी न्याय र प्रहरी सेवामा ४० वर्ष काम गरेका उनलाई पार्टीले २०१८ मा निस्कासन गरेको थियो । एजेन्सी