मुसा : जसले नायक बनेर बचाईरहेका छन् हजारौँको ज्यान
घरमा मुसा पल्किँदा सामान काटेर हैरान गर्छ भनी सबैजना मुसालाई मार्ने वा भगाउने गर्छन् । तर कम्बोडियामा मुसाहरू नायक बनेर हजारौं मानिसको ज्यान बचाइरहेका छन् ।
कम्बोडियाको सियेम रीप प्रान्तको त्रापियाङ कासाङ गाउँमा मुसाहरूले ७ लाख ८८ हजार २५७ वर्ग मिटर क्षेत्रका जमीनमुनिका बारुदी सुरुङ खोजेर तिनलाई नष्ट गराउन सहायता गरिरहेका छन् । ल्यान्डमाइनहरू नष्ट गरिएपछि ती जमीन १९ परिवारलाई फिर्ता दिइएको छ ।
मुसाहरूले १७० बारुदी सुरुङ खोजे । सुरुङहरू वर्षौंदेखि थिए र विस्फोट भएका थिएनन् । तिनलाई खोजेर नष्ट गराउन मुसाहरूलाई जम्मा तीन महिना लाग्यो ।
मुसाहरूलाई ल्यान्डमाइन खोज्ने तालिम एन्टी पर्सनल ल्यान्डमाइन्स डिटेक्सन प्रोडक्ट डेभलपमेन्टले दियो । यसको शुरूआत सन् १९९७ मा भएको थियो । तर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका रूपमा सन् २०१७ मा यो दर्ता गरियो ।
संस्था खोल्ने बार्ट वीटजेन्सले अफ्रिकामा ल्यान्डमाइन खोज्न मुसाहरू सक्षम भएको पाएपछि कम्बोडियामा त्यसै गर्न प्रस्ताव गरे । उक्त संस्थाले मुसाहरूको सहायताले कम्बोडिया, अंगोला, जिम्बाब्वे र कोलम्बियामा ल्यान्डमाइनहरू खोजेर मानिसको ज्यान बचाएको छ । मुसाहरूले ती सबै देशमा गरी एक लाख ३८ हजारभन्दा बढी ल्यान्डमाइन खोजिसकेका छन् ।
सन् २०१९ मा संस्थाले जारी गरेको आँकडा हेर्दा उससँग १५१ वटा मुसा छन् । तीमध्ये २६ लाई प्रजजनकै लागि मात्र राखिएको छ ।
५३ वटा मुसा ल्यान्डमाइन खोज्नका लागि प्रशिक्षित छन् । ३९ मुसा रिसर्च र डेभलपमेन्टका लागि खटिएका हुन् । रिटायर भएका १० मुसालाई अमेरिकाका चिडियखानामा शान्तिदूत बनाएर पठाइँदैछ । एजेन्सी