प्रहरी चौकीमा आक्रमण: ९ प्रहरीको मृत्यु, ३ जना बेपत्ता

हेटौडा न्युज
१४ माघ २०७६, मंगलवार २१:०१
;

अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।

सो आक्रमणमा परी अन्य तीन जना बेपत्ता भएका स्थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा पर्ने बाघलानको समानगान राजमार्गको छेउमा पर्ने खज्जा अल्वानमा सुरक्षा चौकीमा तालिबान लडाकू समूहले सोमबार अबेर राती आक्रमण गरेका थिए ।

यो घटना तालिबान आतंककारीहरूको समूहले गराएका थिए । त्यसमा परी नौ जना प्रहरीको मृत्यु भएको र तीन अन्य बेपत्ता भएका प्रान्तीय अधिकारीले नाम नबताउने शर्तमा बताएका छन् । झडपमा लडाकू समूहका पनि केही सदस्य हताहत भएको स्रोतले बताएको छ ।

प्रान्तीय प्रहरीका प्रवक्ता जाविद बेशरतले राति भएको झडपको पुष्टि गरेका छन् । तर पीडितको सही संख्या कति हो भन्ने बारेमा भने केही बताएका छैनन् । उनले सो घटनाको अनुसन्धान भइरहेको र थप विवरण पछि मात्र आउने बताए ।

सन् २००१ को अन्त्यतिर शासनबाट हटेका तालिबान लडाकूहरुले अफगानिस्तानमा सुरक्षा अधिकारी र सर्वसाधारण नागरिकमाथि बारम्बार आक्रमण गर्दै आएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*