अचम्म ! १ महिनामै २ पटक सुत्केरी भईन् २० वर्षीय युवती, तीनवटा बच्चा जन्माइन
प्रकृतिको चमत्कारका अगाडि विज्ञानले फेल खान्छ । हालै बंगलादेशमा एकजना महिलाले यो कुरालाई पुष्टि गरिदिएकी छन् ।
ती महिला एक महिनाभित्रैमा तीन पटक आमा बनेकी छन् । कुनै पनि महिलाले एक महिनाभित्रैमा दुई पटक सुत्केरी भएर तीनवटा बच्चा जन्माएको घटना विश्वमै पहिलो पटक भएको बताइएको छ ।
ती कीर्तिमानी महिलाको नाम आरिफा सुल्तान हो । उनको उमेर २० वर्षको छ । आरिफाले नर्मल डेलिभरीबाट पहिलो बच्चा जन्माइन् । छोरा जन्माएर अस्पतालबाट घर फर्किएको २६ औं दिनमा उनको पेट अचानक दुख्न थाल्यो । त्यसपछि उनलाई चेकजाँचका लागि अस्पताल लगियो । जब डाक्टरहरूले उनको पेटको अल्ट्रासोनोग्राफी गरे सबैजना तीनछक परे । किनकि, उनको पेटमा थप दुईवटा बच्चा थिए ।
उनको तत्कालै शल्यक्रिया गरी गर्भमा रहेका जुम्ल्याहा बच्चा बाहिर निकालियो ।
पेटमा तीनवटा बच्चा हुँदाहुँदै पनि डाक्टरहरुले किन सुरुमै पत्ता लगाएनन् ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । डाक्टरहरूका अनुसार उनको शरीरमा दुईवटा गर्भाशय छन् । पहिलो बच्चा र पछिल्लो पटक जन्मिएका जुम्ल्याहा छुट्टाछुट्टै गर्भाशयमा रहेका थिए ।
समाचार अनुसार, आरिफा र उनका तीनवटै बच्चा पूर्ण रूपमा स्वस्थ छन् ।
एजेन्सी