यी महिलाले टिकटकका लागि छोडिन् पति
टिकटकमा लाखौं फलोअर भएकी एक महिलाले १२ वर्षको वैवाहिक सम्बन्धलाई तोड्दै पतिसँग छुट्टिने निर्णय गरेकी छन् । पत्नीले उत्तेजक भिडियोहरू पोस्ट गरेको अनि पारिवारिक मूल्यमान्यतालाई ध्वस्त पारेको भन्दै पतिले कडा आपत्ति जनाएपछि पत्नीले उनलाई छोड्ने निर्णय लिएकी हुन् ।
फारिस र नजमा ९दुवैको नाम परिवर्तन० सन् २००८ मा विवाहबन्धनमा बाँधिएका थिए र बेंगलुरुमा संयुक्त परिवारमा बस्थे । फारिसले साउदी अरबमा जागिर पाएर उतै बस्न थाले पनि पत्नीलाई आमाबुवाको जिम्मामा छोडिदिए । सन् २०१४ मा उनीहरूको एक छोरा भयो ।
‘तीन वर्षअघि महिलाकी छिमेकीले उनलाई टिकटकका बारेमा जानकारी दिइन् र उनी त्यसमा झुम्मिन थालिन् । नक्कली ह्यान्डल बनाएर उनले भिडियो पोस्ट गर्न थालिन् अनि उनको फलोअरको संख्या बढ्यो,’ परिहार पारिवारिक परामर्श केन्द्रका वरिष्ठ परामर्शदाता एकबाल अहमदले बताए । उक्त जोडीले आफ्नो मतभिन्नता हटाउन परामर्शदातासँग सल्लाह लिएका थिए ।
फारिस रियादमा बसेर काम गर्दा उनका एक साथीले टिकटक भिडियो पठाए जसमा पत्नीले अश्लील नृत्य गरिरहेकी थिइन् । भिडियोमा लाखौं लाइक र हजारौं अश्लील टिप्पणी आएका थिए । त्यसपछि रिसाएर उनले पत्नीलाई फोन गर्दा पत्नीले आफ्नो अनुहारलाई अश्लील नृत्यमा साथीले जोडेको आरोप लगाइन् ।
यो कुरा नपत्याएर फारिसले जागिर छोडे अनि बेंगलुरु आए । घर आएर पत्नीलाई अश्लील भिडियोका बारेमा सोध्दा पहिला त उनले शंका गरेको भन्दै आँसु बगाइन् तर पछि अश्लील भिडियो बनाएको स्वीकारिन् ।
त्यसपछि उनीहरू प्रहरीकहाँ गए अनि प्रहरीले उनीहरूलाई परामर्शदाताकहाँ पठायो ।
जति सम्झाए पनि ती महिला टिकटकमा बसिरहन चाहन्छिन् र आफ्ना लाखौं प्रशंसकहरूलाई गुमाउन चाहँदिनन् ।
उक्त जोडीले पारपाचुकेको प्रक्रिया शुरू गरेको छ । एजेन्सी