इस्लामिक स्टेट (आईएस) समूहको सक्रियता बढ्दै
इस्लामिक स्टेट (आईएस) समूह पुनः सक्रिय हुन थालेको पाइएको छ । संसारभरि आतंकवादी समूह आईएसको पतनको उत्सव मनाइरहँदा समूहले फेरि आफ्नो सक्रियता बढाएको पाइएको हो ।
हालैका सार्वजनिक भएको एक रिपोर्टहरूमा आईएससँग सन् २०१४ मा खलिफा शुरू गरेभन्दा बढी लडाकू रहेको र लाखौं डलर सम्पत्ति पनि रहेको देखिएको छ ।
इराकी कुर्दिस्तानका प्रधानमन्त्री मसरूर बारजानीले आईएस अझै छिन्नभिन्न नभएको बताए ।
दी एट्लान्टिक पत्रिकासँग गरीएको कुराकानी अनुसार उनीहरूले नेतृत्व मात्र गुमाएका हुन् । उनीहरूले सक्षम मानिस पनि धेरै गुमाएका छन् । तर उनीहरू थप अनुभव हासिल गर्न पाएको र अझ बढी मानिस भर्ती गर्न पनि सफल भएका छन् । त्यसैले उनीहरूलाई हलुका रूपमा लिन नहुने बताए ।
यी कुर्दिश नेताले आईएससँग इराक र सिरियामा लगभग २० हजार लडाकू रहेको विश्वास गरिएको छ । सन् २०१४ मा आईएस स्थापना भएको बेलामा भन्दा यो लगभग दोब्बर संख्या हो ।
संयुक्त राष्ट्रसंघले हालै जारी गरेको प्रतिवेदनमा आईएससँग अझै १० करोड डलर रकम सञ्चित रहेको छ ।
यस अघि पोहोर सालको मार्च महिनामा संसारले सिरियामा आईएसको पराजयको उत्सव मनाएको थियो । अनि गत अक्टोबर महिनामा आईएसका पूर्वप्रमुख अबु बकर अल–बग्दादीले अमेरिकी सेनाको कारवाहीमा परेपछि आफैंलाई बमले उडाएका थिए ।
अमेरिकाको रक्षा मन्त्रालयका इन्स्पेक्टर जनरलको एक ताजा प्रतिवेदनमा आईएसलाई निस्तेज पार्न निकै कम काम भएको उल्लेख छ ।
अमेरिका र इरानबीच तनावको स्थिति रहँदा आईएसको पुनर्जागरणलाई थप प्रोत्साहन प्राप्त भएको छ ।