जनावरलाई गुमाउनु नपरोस् भन्ने चिन्ता, पाल्तू जनावरलाई पनि मास्क
चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजारको हाराहारीमा पुगिसकेको छ । बिरामीको अवस्था यस्तो छ कि पाल्तू जनावरका मालिक आफ्नो कुकुर तथा बिरालोलाई पनि फेस मास्क लगाउन बाध्य भएका छन् ।
यो भाइरसका कारण कतै आफ्नो पाल्तू जनावरलाई गुमाउनु नपरोस् भन्ने चिन्ता उनीहरूको छ । उनीहरूलाई पाल्तू जनावरका कारण आपूmलाई यो घातक रोग नसरोस् भन्ने डर पनि छ । कोरोना भाइरसको प्रकोप अझै जारी रहेको छ र विश्व स्वास्थ्य संगठनले यसलाई खतरनाक बिमारी घोषणा गरेको छ ।
पाल्तू जनावरलाई पनि भाइरसको संक्रमण हुन्छ वा हुँदैन भन्ने विषयमा विश्व स्वास्थ्य संगठनले कुनै प्रमाण पेस गरेको छैन । यद्यपि चिनियाँ नागरिक आफ्नो पाल्तू जनावरलाई फेस मास्क लगाएरै घरबाहिर लैजाने गरेका छन् । चिनियाँ सोसल मीडिया वेइबोमा यसको तस्बिर भाइरल भएको छ, जसमा जनावरको आँखामात्रै खुला भएको देखिन्छ ।
कैयौं तस्बिर ट्विटरमा सेयर गरिएको छ र यो भाइरल भइरहेको छ । द सनका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पाल्तू जनावर तथा कोरोना भाइरसका बारेमा डब्लूएचओको भनाइप्रति असहमति जनाएको छ । आयोगका प्रवक्ता तथा महामारी वैज्ञानिक ली लन्जुआनले भनेका छन्, “यदि पाल्तू जनावर बाहिर जान्छन् र संक्रमित व्यक्तिको सम्पर्कमा आए भने उनीहरूलाई पनि संक्रमण हुने जोखिम रहन्छ ।
त्यसैले पाल्तू जनावरलाई अलग गर्नु आवश्यक छ । मानिसका अतिरिक्त हामीलाई अन्य स्तनधारी विशेष गरी पाल्तू जनावरसँग सावधान हुनु आवश्यक छ ।”
वल्र्ड स्मल एनिमल भेटेरनरी एसोसिएसनले पनि बिरालोका मालिकहरूलाई आफ्ना पाल्तू जनावरलाई केही समयका लागि घरभित्रै राख्नका लागि सल्लाह दिएको एक्सप्रेस न्युजले जनाएको छ । यो बिरामीमाथि हालसम्म कुनै नियन्त्रण गर्न सकिएको छैन । कैयौं देशले चीनबाट आउनका लागि प्रतिबन्धसमेत लगाएका छन् । प्रमुख विमान सेवा कम्पनीहरूले यहाँबाट जाने र यहाँ आउने उडानलाई रोकेका छन् । एजेन्सी