भारत हुँदै भुटान पुगेका अमेरिकी नागरिकमा कोरोना भेटीयो
भुटानमा पनि एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। शुक्रबार भुटानमा पनि पहिलो पटक अमेरिकी नागरिकमा कोरोनाभाइरसको संक्रमण देखिएको प्रधानमन्त्री लोटे छिरिङले जानकारी दिए।
७६ वर्षीय ती नागरिक भारत हुँदै गत सोमबार भुटान पुगेका थिए। उनमा कोरोनाको संक्रमण भेटिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भुटानले एक जनामा संक्रमण देखिएसँगै सबै नाका बन्द गरेको छ। संक्रमण थप बढ्दै नजाओस् भन्ने उद्धेश्यले दुई हप्ताको लागि सबै नाका बन्द गरेको प्रधानमन्त्री छिरिङले आफ्नो फेसबुकमा लेखेका छन्।
त्यस्तै, शुक्रबारदेखि भुटानको राजधानी थिम्पुसहित तीन ठाउँका विद्यालय पनि बन्द गर्न अनुरोध गरेको छ। भुटानमा रहेका उक्त बिरामी फेब्रुअरी १० मा वासिङटनबाट भारत घुम्न पुगेका थिए।
साथै, स्वास्थ्य अधिकारीहरूले उनीसँग सम्पर्कमा रहेका ९० जनालाई पनि क्वारन्टाइनमा राखेका छन्। हालसम्म भने उनीहरूमा कुनै खालको लक्षण नदेखिएको स्वास्थ मन्त्रालयले जनाएको छ। एजेन्सी